बेनी(म्याग्दी), १० वैशाख । म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना आरोही बेपत्ता भएका छन्।
साथै आरोहणमा गएका दुई जनाको सकुशल उद्धार गरिएको छ।
८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ।
धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए।
हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता हुनुभएको छ।
अमृतसँगै बेपत्ता हुनुभएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्याएको शेरचनले बताउनुभयो।
बेपत्ता भएका व्यक्तिहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आउनुभएको थियो।
उहाँहरू जापानिज आधार शिविर नजिकै हिउँपहिरोमा पर्नुभएको थियो।


















