Prakash Adhikari May 11, 2023

काठमाडौं २८ वैशाख । नेपाल वायु सेवा निगमले देशका ठूला शहरी गन्तव्यमा सेवा दिनका लागि मध्यम खालका दुई जहाज खरिद गर्ने भएको छ।

अन्तराष्ट्रिय र दुर्गम रुपमा मात्रै उडान गरिरहेको निगमले देशका ट्रक रुटमा उडान गर्न ६०–७० सिटे २ वटा जहाज खरिद गर्ने तयारी गरेको हो।

केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि ३ वटा ट्वीनओटर जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।

नेपालमा ठूला शहरमा निजी क्षेत्रको जहाजहरुको मात्र सेवा रहेकोमा तिनको मूल्यमा रहेको कार्टेलिड. तोड्न र यात्रुहरुलाई सुरक्षित,भरपर्दो र समयबद्ध सेवा दिने उद्देश्यका साथ निगमले जहाज खरिदगरी स्वच्छ प्रतिस्पर्धा बढाउने निर्णय गरेको हो।

नेपाल वायुसेवा निगमले हाल दुई न्यारोबडी र दुई वाइडबडीका जहाजमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा दिइरहेको छ भने २ वटा ट्वीनअट्टरमार्फत दुर्गम क्षेत्रमा सेवा दिइरहेको छ ।

ट्रक रुटमा पनि सेवा दिने उद्देशयले निगमले चिनियाँ जहाज ल्याएको थियो । तर प्राविधिक कारण र सञ्चालन खर्च बढी भएकोले निगमले व्यवसायिक हिसाले तिनलाई चलाउन सकेन ।

निगमले देशका शहरी क्षेत्रहरुमा एटीआर ७२ जहाजमार्फत सेवा दिने तयारी गरिरहेको छ । यो जहाजमा ७२ सिट हुनेभएकोले अन्य साना जहाजभन्दा प्रतिसिटमा यसको सञ्चालन खर्च र भाडा सस्तो पर्न आउछ ।

बुद्ध एयर र यति एयरलाइन्सले एटीआरका जहाजबाट देशका प्रमुख शहरी क्षेत्रमा सेवा दिंदै आएका छन्।

जहाज खरिदको निर्णय भएपछि निगमले जारी गरेको विज्ञप्तिमा निगमका प्रवक्ता रमेश पौडेलले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई जहाज खरिद कार्ययोजना अघि बढाएको जानकारी दिनुभएको छ।

‘जहाज खरिद अघि बढाउन यही वैशाख २६ गते बसेको निगम सञ्चालका समितिको बैठकले सञ्चालका क्या.सुधीर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। सो उपसमितिले तीन हप्ता(२१ दिन)भित्र प्रतिवेदन दिने छ ।

 

‘शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवम् व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ प्रवक्ता पौडेलले भन्नुभएको छ,‘ निगमले दुई जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत शहरी क्षेत्रबाट प्रादेशिक उडानबाट अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सक्ने छ।’

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले जहाजहरु खरिद गर्ने योजना बनाएको छ।

मन्त्रालयका एक अधिकारीकाअनुसार नेपाल वायुसेवा निगमले एटीआर ७२ का जहाज खरिद गर्ने तयारी गरेको हो। ग्लोबल टेन्डरबाट सम्भव नभएकाले सरकारले कम्पनीसँग सिधै खरिद गर्न खोजेको छ।

‘जुन पायो त्यही जहाज ल्याएर हुँदैन। नेपालमा सबैभन्दा बढी एटीआर चल्दै आएका छन्,’ मन्त्रालयका ती अधिकारीले भने,‘अरु जहाज ल्याउँदा यहाँ थप पूर्वधार बनाउनु पर्छ। एटीआरका लागि पाइलटदेखि विज्ञ प्राविधिक अहिले नै छन्।’

जहाज खरिदपश्चात् अन्तरदेशीय पर्यटन प्रर्वद्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर घट्ने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने प्रवक्ता पौडेलले बताउनुभएको छ।

ऋण लिएर किन्ने योजना
दुर्गम क्षेत्रकोलागि खरिद गर्ने जहाज आफै व्यवस्थाप गर्न सक्ने बताएको निगम मध्यमखालका जहाज खरिदकालागि सरकारसँग सहयोग माग गर्ने भएको छ।

आन्तरिक उडानका लागि ३ वटा साना जहाजकोलागि २ अर्ब ९० करोड लाग्ने निगमको अनुमान रहेको छ।

बुद्ध एयरले नेपाल भित्राएको एटीआर ७२ करिब १ अर्ब बराबरको हो।

एटीआर ७२–५०० र एटीआर ७२–६०० को फरक फरक मुल्य रहेको छ। त्यसबाहेक नेपालमा श्री एयरलाइन्स र सौर्यले बोम्बारडियर जहाज सञ्चालन गरिरहेका छन्।

 

 

Share Now

Leave a comment.