Prakash Adhikari May 17, 2023

काठमाडौं, ३ जेठ । सचिव पदमा रहदा वाइडबडी जहाज खरिद काण्ड र नेपाल आयल निगमको जग्गा खरिद काण्डमा मुछिनुभएका अख्तियार प्रमुख प्रेमकुमार राई नक्कली शरणार्थी प्रकरणमा पनि संलग्न मुछिनुभएको छ ।

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाललगायतले बयानमा तत्कालीन गृहसचिव प्रेम राईले आफूसँग नगद बुझेको दाबी गर्नुभएको छ।

दुवैले बयानमा आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएको देशसञ्चार डट कमले समाचारमा उल्लेख गरेको छ। समाचारमा जनाइए अनुसार राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ।

भण्डारी र दुलाले प्रहरीसमक्ष दिएको बयान स्रोतले देश सञ्चारसँग भनेको छ, ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएका हौँ।’

राई २०७४ चैत २६ देखि ०७६ माघ २० सम्म गृहसचिव हुनुहुन्थ्यो। उहाँको पालामा नै बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी छानवीन कार्यदल बनेको थियो । उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका साथ भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेकाहरुले राईलाई मन्त्रालयमै पुगेर नगद बुझाएको बयान आएको छ।

गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

त्यस्तै, स्रोतका अनुसार बयानमा पैसा उठाएका ८० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नसकेपछि रकम फिर्ता गरेको बताएका छन्। रकम फिर्ता गरे पनि माथिल्लो तहमा बुझाएको रकम भने फिर्ता नपाएको पक्राउ परेकाहरुले खुलाएका छन्।

शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्ने गरी प्रहरीसमक्ष बोलेका एक जनाले एमाले नेता अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको खुलाएको बुझिएको छ। उनले मानव सेवा आश्रमका लागि सहयोगस्वरुप २ करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेका छन्। उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन्।

बयानमा उनले आफूले कांग्रेस नेत्री आरजु राणासँग भने कुरा नगरेको बताएका छन्।

प्रहरीले हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जनालाई पक्राउ गरिसकेको छ भने केही अझै फरार छन्।

Share Now

Leave a comment.