काठमाडौँ, १८ असोजः गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ः०० बजे खुलामञ्चमा भव्यताका साथ उद्घाटन हुने जानकारी दिनुभयो ।
उहाँले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । कांग्रेसको १५औँ महाधिवेशनमा देश र विदेशबाट ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने उहाँको भनाइ छ ।
उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि २ हजार ५ सय प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै सुरु भएको छ ।
बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नुहुने छ ।
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि भृकुटीमण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताउनुभयो । खुलामञ्चभित्र सरसफाइ कायम राख्दै खाना र खाजा पूर्ण रूपमा निषेध गरिएको छ । यस्तै, प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ ।
त्यसैगरी, खुलामञ्चको मञ्च नजिकै सञ्चारकर्मीका लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उपसभापति शर्माले बताउनुभयो । महाधिवेशन अवधिभर दिनको दुईपटक पार्टी प्रवक्ता देवराज चालिसेले दैनिक ब्रिफिङ गर्ने कांग्रेसले जनाएको छ । बन्दसत्रमा पनि पालैपालो मिडिया प्रवेशको व्यवस्था मिलाइने शर्माले बताउनुभयो ।
पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन पत्र दर्ता मिति २०८३ असोज १९ गते सोमबार दिनको २ः०० वजेदेखि साँझ ६ः०० वजेसम्म राष्ट्रिय सभा गृह काठमाण्डौमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिनुभएको जानकारी अनुसार योग्य उम्मेदवारहरुले तोकिएको समयावधिभित्र मनोनयन पत्र दाखिल अनुरोध गरिएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अबधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यबस्था रहेको छ । अतः आसन्न १५औ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको ब्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा केन्द्रीय निर्वाचन समितिले पुनः स्मरण गराएको छ ।
साथै, पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यबस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कार्यसमिति उम्मेदवारी शुल्क
नेपाली कांग्रेसको काठमाण्डौमा हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय पदाधिकारी एवम् केन्द्रीय सदस्यमा निर्वाचित हुन इच्छुक महाधिवेशन प्रतिनिधिले तोकिएको शुल्क बुझाएर उम्मेद्वारी दिन सक्ने व्यवस्था गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय सभापतिको पदमा उम्मेद्वारी दिन रु ४० हजार शुल्क तोकिएको छ ।पार्टीको उपसभापति र महामन्त्री पदका लागि रु.३० हजार तोकिएको छ । पार्टी सहमहामन्त्री पदमा उम्मेद्वारी दिन रु. २०,००० शुल्क बुझाउनु पर्नेछ भने केन्द्रीय सदस्यका लागि रु ११ हजार । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि दर्ता शुल्क रु ३ हजार ५ सय कायम गरिएको छ ।
पार्किङको व्यवस्था
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।
आवासको व्यवस्था
नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एकरएक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनाएको छ ।सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।
यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । प्रतिनिधि बस्नका लागि सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताउनुभयो । “देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ । बस्नका लागि समस्या भएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजीकरण गर्ने धमलाले बताउनुभयो । कांग्रेसले पार्टीको वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यको बारेमा राखेकाले कुनै अलमलमा परेमा उक्त विवरण हेर्न सकिने जनाएको छ ।








