मार्क पाइसिङ / बीबीसी फ्यूचर
लण्डन(संयुक्त अधिराज्य), ५ जेठ । सन् १९५० को दशकमा अन्तरिक्षमा सफल हुने दौडमा जब सोभियत सङ्घ केही अगाडि परेको जस्तो देखियो, तब अमेरिकी वैज्ञानिकहरूले एउटा अनौठो योजना बनाए – चन्द्रमाको सतहमा परमाणु विस्फोट गरेर सोभियत सङ्घलाई तर्साउने।
अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला टेकेको क्षण मानव इतिहासमा सम्झन लायक क्षणहरूमध्ये एक हो।
तर यदि आर्मस्ट्रङले टेकेको चन्द्रमा विशाल खाडलहरू परेको र परमाणु बमको विस्फोटको असरका कारण विषाक्त भएको भए के हुन्थ्यो होला?
पहिलो पटक पढ्दा ‘अ स्टडी अफ लुनार रिसर्च फ्लाइट्सको, भोल्युम १’ – अध्ययन प्रतिवेदनको शीर्षक प्रशासनिक र पट्यारलाग्दो लाग्न सक्छ। सहजै बेवास्ता गर्न सकिने कागजजस्तो। र सायद लेखक पनि त्यही चाहन्थे।
तर जब तपाईँ त्यस प्रतिवेदनको आवरण पृष्ठ हेर्नु हुन्छ तब परिस्थिति केही फरक रहेको जस्तो अनुभव हुन्छ।
त्यस आवरणको मध्यभागमा छापिएको तस्बिरमा एक अणु, एक परमाणु बम र त्यस्तो बम बिस्फोट भएपछि निस्कने च्याउ आकारको बादलको मुस्लो चित्रण गरिएको छ। त्यो न्यू मेक्सिकोस्थित कर्टल्याण्ड एअर फोर्स बेसमा रहेको एअर फोर्स स्पेसल वेपन्स सेन्टरको प्रतीक चित्र हो जुन केन्द्रले परमाणु अस्त्रहरूको विकास र परीक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
प्रतिवेदनको तल्लो भागमा लेखकको नाम छ: एल राइफेल, वा लेनार्ड राइफेल जो अमेरिकाको प्रमुख पारमाणविक भौतिक शास्त्रीहरू मध्ये एक हुन्। उनले विश्वको पहिलो पारमाणविक रिएक्टरका निर्माता एनरिको फर्मीसँग काम गरेका थिए जसलाई “पारमाणविक बमको परिकल्पनाकार” भनेर चिनिन्छ।
प्रोजेक्ट ए ११९ नामक उक्त परियोजना चन्द्रमामा हाइड्रोजन बम विस्फोटका लागि पेस गरिएको अति गोप्य प्रस्ताव थियो।
हाइड्रोजन बम सन् १९४५ मा हिरोसिमामा खसालिएको पारमाणु बम भन्दा धेरै विनाशकारी थियो र त्यस समयको पारमाणविक अस्त्र निर्माणमा नयाँ थियो। वायुसेनाका वरिष्ठ अधिकारीहरूले उक्त परियोजनालाई “तीव्र गतिमा अघि बढाउन” चाहन्थे।
त्यति बेला राइफेलले सन् १९५८ मेदेखि सन् १९५९ को ज्यानुअरीसम्म योजनाको सम्भाव्यतामा थुप्रै प्रतिवेदनहरू प्रस्तुत गरेका थिए।
कार्ल सागन नामक एक वैज्ञानिकले अविश्वसनीय रूपमा यस चकित तुल्याउने योजनामा मद्दत गरेका थिए। लामो समयसम्म गोप्य रहेको यस परियोजनाबारे सन् १९९० मा पत्ता लाग्यो। किनकि सागनले एक नामी विश्वविद्यालयमा पेस गरेको आवेदनमा यसबारे उल्लेख गरेका थिए।
यस परियोजनाले चन्द्रमा सम्बन्धी केही वैज्ञानिक प्रश्नहरूको उत्तर दिन सहयोग पुर्याएको हुनसक्छ। यद्यपि, यसको प्रमुख उद्देश्य भने शक्ति प्रदर्शनसँग सम्बन्धित थियो।
त्यस्तो बम ‘टर्मिनेटर लाइन’ भनिने चन्द्रमाको उज्यालो र अँध्यारो भागको सीमामा पड्काइने योजना थियो। त्यसको प्रमुख उद्देश्य प्रकाशको यस्तो तेज चमक पैदा गर्नु थियो जसलाई कुनै उपकरणको सहयोग बिना जो कोहीले, विशेष गरी क्रेमलिनका सबैले देख्न सकुन् भन्ने थियो। चन्द्रमामा वायुमण्डल नभएकाले त्यहाँ विस्फोटपछि छाते च्याउ आाकारको धुवाँको मुस्लो उठ्ने थिएन।
यो अति भयावह परियोजना अघि सार्नुको एक मात्र ठोस कारण थियो। त्यो हो- रुसभन्दा राम्रो गर्न नसक्दाको असुरक्षा र बेचैनी।
सन् १९५० मा अमेरिकाले शीत युद्ध जित्छ जस्तो देखिएको थिएन। अमेरिकामा राजनीतिक र आम मानिसको मत यही थियो कि- सोभियत सङ्घ परमाणु अस्त्र बनाउनमा अमेरिकाभन्दा अगाडि छ। विशेष गरी सोभियत सङ्घ र अमेरिकाबीच परमाणु अस्त्रहरूको विकासको चरण, परमाणु बम खसाउन सक्ने विशेष विमानको सङख्या र दुवैसँग रहेको परमाणु क्षेप्यास्त्रको सङ्ख्याका सन्दर्भमा अमेरिकाभन्दा सोभियत सङ्घ अगाडि छ भन्ने बुझाई थियो।
सन् १९५२ मा अमेरिकाले पहिलो हाइड्रोजन बम विस्फोट गरेको थियो। त्यसको तीन वर्षपछि सोभियत सङ्घले उस्तै बम विस्फोट गरेर वाशिङटनलाई चकित तुल्याएको थियो। सन् १९५७ मा सोभियत सङ्घले अन्तरिक्षको दौडमा वर्चस्व कायम गर्दै पृथ्वी वरपर परिक्रमा गर्ने पहिलो कृत्रिम उपग्रह स्पूत्निक १ प्रक्षेपण गर्यो।
पहिले नै चिन्तित अमेरिकालाई अन्तरिक्षमा सोभियत सङ्घको सफलताले थप चिन्तित बनायो। सोभियत सङ्घले स्पुत्निक प्रक्षेपणका लागि क्षेप्यास्त्र प्रयोग गरेको थियो जुन अमेरिकाका लागि डरलाग्दो थियो। अमेरिकाले आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने प्रयास समेत गरेको थियो जुन असफल भयो र त्यसमा ठूलो विस्फोट भयो। उक्त विस्फोटको घटना टिभिमा प्रसारण भएको थियो। त्यसबेला प्रदर्शन गरिएको एउटा ब्रिटिश न्यूजरिलले खरो भाषामा “अमेरिकाले नोक्सानी बेहोरेको र विश्वमाझ उसको प्रतिष्ठा र प्रचारको दायरामा ठूलो झट्का लागेको” उल्लेख गरेको थियो।
य अमेरिकी विद्यालयका विद्यार्थीहरूलाई प्रसिद्ध “डक एन्ड कभर” नामक जानकारीमूलक चलचित्र देखाइँदै थियो। त्यसमा बर्ट नामक एक एनिमेटेड कछुवाले बालबालिकालाई पारमाणविक आक्रमणको घटना हुँदा के गर्ने भनेर सिकाउँछ।
त्यही वर्षको अन्त्यतिर अमेरिकी पत्रपत्रिकाले एक वरिष्ठ खुफिया स्रोतलाई उद्धृत गर्दै “सोभियतहरूले रिभोलुसन एनिभर्सरी नोभेम्बर ७ को अवसरमा चन्द्रमामा हाइड्रोजन बम पड्काउन लागेको” खबर सार्वजनिक गरे। द डेली टाइम्स, न्यू फिलाडेल्फिया, ओहायोमा त्यो खबर छापिएको थियो।
त्यसपछि सोभियतहरूले अमेरिकाको निकट छिमेकी देशमा पारमाणु अस्त्र-जडित रकेट प्रक्षेपण गर्ने योजना रहेको विवरणहरू पनि प्रकाशित भए।
यद्यपि, शीतयुद्धसम्बन्धी अन्य अफवाहहरू जस्तै यो जानकारी पनि कहाँबाट उत्पत्ति भयो भनेर बुझ्न कठिन रह्यो।
अनौठो त के भने, अमेरिकी परियोजनाका कारण उत्पन्न डरले रुसलाई आफ्नै योजनाहरू विकास गर्न मद्दत गर्यो। इ-फोर नाम दिइएको उनीहरूको परियोजना अमेरिकी परियोजनाको दुरुस्त नक्कल थियो। तर, प्रक्षेपण असफल भएको खण्डमा बम आफ्नै भूमिमा खस्ने डरले उनीहरूले अन्ततः त्यसलाई अघि नबढाउने निर्णय गरे। अमेरिकाले पनि सोही कारण जनाउँदै आफ्नो परियोजना रद्द गरेको थियो। यसका कारण “अन्तर्राष्ट्रिय स्तरमा नरुचाइने घटना घट्न सक्ने” सम्भावना रहेको उनीहरूको व्याख्या थियो।
स्पुत्निक
अन्ततः चन्द्रमाको सतहमा अवतरण गर्ने सफलता हासिल गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ भन्ने उनीहरूको बुझाई हुनपुगेको जस्तो देखियो। तर ए११९ परियोजना सफल पनि हुन सक्थ्यो। सन् २००० मा राइफेलले यस परियोजनाबारे भनेका थिए- प्राविधिक रूपमा यो सम्भव थियो र त्यस्तो विस्फोट पृथ्वीबाट देख्न सकिन्थ्यो।
वैज्ञानिकहरू स्वच्छ र कञ्चन चन्द्रमाको वातावरणमा पुग्ने क्षतिप्रति जति चिन्तित थिए, अमेरिकी वायुसेना एस एअर फोर्स त्यति थिएन।
“रुसी स्पुत्निक परियोजनालाई रोमाञ्चक र प्रभावशाली जवाफ दिन आएको कैयौँ उपायहरू मध्येको एक ए११९ परियोजना थियो,” विज्ञान तथा पारमाणविक प्रविधिका इतिहासविद् एलेक्स वेलरस्टाइनले भने। “यसमा स्पुत्निकलाई मार हानेर खसाल्नेसम्मका उपायहरू थिए, जुन अत्यन्त क्रूर र घातक सुनिन्छ। उनीहरू यसलाई मानिसहरूलाई प्रभावित तुल्याउन गरिने स्टन्ट वा चटकका रूपमा सम्बोधन गर्दथे।”
“अन्ततः उनीहरूले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने निर्णय गरे, जसका लागि उनीहरूलाई केही समय लाग्यो। तर उनीहरूले परियोजनालाई केही गम्भीरतापूर्वक लिए र १९५० को दशक सम्म यसमा काम गरे।
“यो त्यस बेलाको अमेरिकी मानसिकता बुझ्ने यो निकै रोचक तरिका हो। यसै मानसिकताका कारण उनीहरू यसरी प्रतिस्पर्धा गर्न चाहन्थे जुन वास्तवमै प्रभावकारी होस्। यद्यपि मलाई यस मामिलामा प्रभावशाली विचार पनि धेरै डरलाग्दो थियो भन्ने लाग्छ, यो सन्दर्भमा प्रभावशाली हुनु र भयानक हुनु समान जस्तै हो। ”
उनी कम्युनिस्ट विरोधी लहरको डरका कारण परमाणु भौतिक शास्त्रीहरू यस परियोजनामा काम गर्न बाध्य भए भन्ने कुरा यकिन गरेर भन्न सक्दैनन्। “यस्ता परियोजनामा काम गर्ने मानिसहरू केही हदसम्म स्वनिर्णय गर्छन्,” उनी थप्छन्। “उनीहरूलाई यस्तो काम गर्न कुनै आपत्ति छैन। यदि उनीहरू डराएका हुन्थे भने लाखौँ अन्य कामहरू रोज्न सक्थे। शीतयुद्धको दौरान अधिकांश वैज्ञानिकहरूले यस्तै काम गरे। उनीहरू भौतिक विज्ञानमा ‘राजनीति धेरै हाबी भएको’ बताउँथे।”
वेनगार्ड रकेट
भियतनाम युद्धपश्चात् सायद धेरै आत्म समीक्षा भएको हुनसक्छ।
“ए११९ परियोजनाले मलाई द सिम्पसन्सको एउटा दृश्यको सम्झना दिलाउँछ। उक्त दृश्यमा, लिसाले नेल्सनको भित्तामा एक पोस्टर देख्छिन् जसमा ‘न्यूक द ह्वेल’ अर्थात् ह्वेललाई पारमाणविक आक्रमण गरौँ लेखिएको हुन्छ। जब लिसाले उसलाई यस बारे सोध्छिन्, तब नेल्सन भन्छन्, ‘ठीक छ, केही न केहीलाई त पारमाणविक आक्रमण गर्नु पर्यो,’” बाह्य अन्तरिक्षमा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार ब्लेडिन बोवेनले भने।
“यो निकै गम्भीर अध्ययन थियो। यद्यपि अन्तरिक्ष समुदाय छाड्ने बेलासम्म उनीहरूले कुनै गम्भीर चासो वा आर्थिक सहयोग पाएनन्। यो १९५० को दशकको अन्त्य र १९६० को दशकको सुरुवातको समयमा थियो जब मानिसहरू अन्तरिक्षको बारेमा धेरै उत्साहित थिए र अन्तरिक्ष अन्वेषणको भविष्य के हुनेछ भन्नेबारे अनभिज्ञ थिए” उनले भने।
“यदि भविष्यमा चन्द्रमालाई लिएर यस्तै किसिमको उन्माद देखिएमा त्यो विश्वका अधिकांश देशहरूले पालना गर्ने भनेर प्रतिबद्धता जनाइ स्वीकार गरेको अन्तर्राष्ट्रिय नियम विपरीत हुनेछ।”
के अन्तर्राष्ट्रिय सहमतिको बाबजुद यी योजनाहरू फेरि सतहमा आउन सक्छन्? “मैले पेन्टागनसहित अन्य केही स्रोतहरूबाट के अफवाह सुनेको छु भने यूएस स्पेस फोर्स चन्द्र अभियानमा इच्छुक देखिएको छ,” बोवेनले भने।
चरम विचारहरू अमेरिकामा स्वीकार नहुने सम्भावना हुन सक्छ, तर यसको मतलब चीन जस्ता अन्य देशहरूले त्यस्ता विचारहरूबारे सोच्दैनन् भन्ने होइन। “चीनमा यस्तो समूह हुन सक्छ जसलाई यस किसिमको विचारमा काम गर्न इच्छा छ किनकि उनीहरू चन्द्रमामा रुचि राख्छन् र सेनासँग जोडिएका छन्। यदि यस्तो भएको खण्डमा म अचम्मित हुने छैन,” बोवेन थप्छन्।
ए११९ परियोजना बारे धेरै जानकारी अझै अज्ञात छ र यो सम्बन्धित धेरै कागजातहरू नष्ट भएको देखिन्छ।
हामीले यसबाट के पाठ सिक्न सक्छौँ भने शीर्षक पट्यारलाग्दो सुनिए पनि अनुसन्धान पत्रहरू ध्यानपूर्वक पढ्नु महत्त्वपूर्ण छ।