काठमाडौं, १३ जेठ ।मलेसियासंग ५ वटा टी २० मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला क्रिकेट टोली आज क्वाललम्पुर प्रस्थान गरेको छ ।
सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाली प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।
रुविना क्षेत्री बेलबासेको कप्तानी रहेको टिममा सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी रहेका छन् ।
नेपालले युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन् ।
सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छिन् । स्पिनर कृतिका मरासिनी नेपालको यू१९ कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन्
नेपालले मलेसियासँग पहिलो खेल जेठ १५ (मे२९) मा खेल्नेछ । त्यस्तै जेठ १६ (मे३०) मा दोस्रो खेल खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।
नेपालले गत वर्ष एसीसी वुमन्स टी–२० च्याम्पियनसिपपछि ११ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
यसबीचमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई प्रतियोगिता आयोजना भएका थिए । मलेसियासँग दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
महिला क्रिकेटले हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न पाएको छैन । यस पटक भने खेलाडीमा रहेको कमजोरी र समस्यालाई सुधार गर्दै नेपाल सकरात्मक नतिजा ल्याउन चाहन्छ ।
महिला क्रिकेटमा फिटनेसको परम्परागत समस्या केहि हदसम्म समाधान भएको कप्तान रुविनाले बताइन् । नेपाली महिला क्रिकेट टिमले यस शृंखलाका लागि मुलपानी मैदानमा ८ दिनको प्रशिक्षण गरेको छ । प्रशिक्षक सामसन जंग थापा पनि मलेसियामाथि शतप्रतिशत जितको अपेक्षा गरेका छन् ।
नेपाली कप्तान रुविना क्षेत्री बेल्बासेका अनुसार मलेशिया नेपालभन्दा कमजोर नै छ । नेपालले पाँच वटै खेल जित्ने संभावना पनि रहेको छ।
यो सिरिजका सबै खेल जित्नका लागि नेपालले २ दिन इन्डोर सेसन , २ वटा अभ्यास खेलका साथै ब्याटिङ र बलिङमा प्रशिक्षण गरेको छ ।
टी–२० विश्वकप एसिया छनोट तयारी
नेपाली महिला टिमले आउने भदौमा आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता खेल्नेछ । सो प्रतियोगिता पनि मलेसियामा नै हुनेछ । जसका कारण नेपाली महिला क्रिकेट टिमलाई यो सिरिज मलेसियाको पीच र वातारण बुझ्ने अवसरको रुपमा रहेको छ ।
आईसीसी वरीयतामा नेपाली महिला टिम १६ औं स्थानमा छ भने मलेसिया २८ औं स्थानमा छ । वरीयतामा कमजोर भए पनि मलेसियाले पछिल्लो समय थुप्रै अन्तर्राष्ट्रिय एक्सपोजर लिइरहेको छ ।
मलेसिया भखर्रै श्रीलंका टुर गरेर आएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतियोगिता नेपाली महिला क्रिकेटको स्तरोन्नत्तिका लागि महत्वपूर्ण रहेको बताएको छ ।


















