Prakash Adhikari May 27, 2023

काठमाडौं, १३ जेठ । संसदभित्रका तीन ठूला राजनीतिक दलबीच संसदको गरिमा बढाउन हैन,संसदको मानमर्दन गर्ने सहमति भएको छ ।

हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज सुचारु गर्नका लागि संसदका तीन ठूला दलहरुबीच भएको बैठकमा संसदमा भ्रष्टाचारका सम्बन्धमा अभिव्यक्त भएको रेकर्ड मेटाउने सहमती भएको छ । संसद देश र जनताका समस्या अभिव्यक्त गर्ने र तिनको समाधान निकाल्ने थलो पनि हो । देश र जनताका समस्या सुल्झाउन कानून बनाउने निकाय पनि हो ।

तर देश भ्रष्टाचारबाट आक्रान्त भएको बेला विगतमा भएको भ्रष्टाचारको विषयमा भएको अभिव्यक्ति मेटाउने सहमतीले यो संसदको औचित्यमा प्रश्न लाग्न गएको छ भने यसलाई सञ्चालन गर्नेहरुको मठाधीशहरुको नियतमा ठूलो प्रश्न लाग्न गएको छ ।

नेपाल प्रहरीको प्रयासमा हाल अनुसन्धान भएर काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका नेताहरुबीच सिण्डिकेट सिर्जना गरी ठूलालाई बचाइएको र सानालाई फसाइएको आरोप लागिरहेको बेलामा देशको संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको विषय संसदमा उठाउदा त्यसको अभिलेख मेट्ने गलत परम्परा तीन दलले सुरु गरेका छन् ।

यो सहमति गैरसंसदीय र संसदको मानमर्दन गर्ने खालको छ । संविधानमा महालेखाको परीक्षकको प्रतिवेदन उपर संसदमा छलफल गर्नुपर्ने उल्लेख छ । महालेखाको परीक्षकको प्रतिवेदन उपर संसदको सार्वजनिक लेखा समितिमा छलफल गरी भएका आर्थिक अनियमितताहरु सच्याउन राज्यका निकायलाई जिम्मेवार बनाउने परम्परा रही आएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले के. पी. ओलीको प्रधानमन्त्रीत्वकालमा पशुपतिनाथको मन्दीरमा सुनको जलहरि राख्दा भ्रष्टाचार भएको महालेखा परिक्षकको प्रतिवेदनमा यस सम्बन्धमा अनियमितता भएको विवरण उल्लेख भएको कुरा प्रतिनिधि सभाको बैठकमा उठाउनु भएको थियो ।

संसदमा एमालेको शासन कालमा भएको भ्रष्टाचारको प्रसंग उठनासाथ नेकपा एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभाको बैठक चल्न दिएनन् ।

राससका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको थियो ।

जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी हुनुहुन्थ्यो ।
–––

Share Now

Leave a comment.