Prakash Adhikari June 8, 2023

प्रिटोरिया(दक्षिण अफ्रिका), २५ जेठ । आईसीसी वल्र्ड कप छनोटको पूर्वाभ्यास गर्न दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम त्यहाँ स्कटल्याण्डसंग भएको पहिलो अभ्यास खेलमा ७ विकेटले पराजित भएको छ ।

पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा हासिल गरेको छ ।

खेलमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९, कप्तान रिची बेरिंग्टनले ४१ रन बनाए । स्कटल्याण्डलाई रोक्न नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपालका  कुशल मल्लले ३७ ,ओपनर आसिफ शेखले २८ , अर्का ओपनर कुशल भुर्तेलले १६, भीम सार्कीले ८ , ज्ञानेन्द्र मल्लले ७ , गुलशन झा र आरिफ शेख समान ५ । ५ , करण केसी ४ रन र सोमपाल कामीले ३ रन बनाए । खेलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए ।

नेपाललाई रोक्न स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले३ / ३विकेट लिए । शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक एक विकेट लिए ।

नेपाल दुई सातापछि जिम्बावे हुने आइसीसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो । नेपालले दक्षिण अफ्रिकामा शनिबार नेदरल्यान्ड्ससँग अर्को अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपाल जिम्बावे लाग्नेछ । जिम्बावेमा नेपालले आइसिसीले प्रदान गर्ने दुई अभ्यास खेल खेल्नेछ ।नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।

आईसीसी वल्र्डकप छनोट प्रतियोगितामा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् ।

प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

यो अभ्यास खेलमा मुख्य प्रशिक्षक मोन्टि देसाईँ पनि नपुगेकोले नेपालको प्रदर्शन सोचे अनुरुप नभए पनि आउदा अभ्यास र प्रतियोगिताका खेलमा नेपालले राम्रो गर्ने अपेक्षा गरिएको छ ।

 

Share Now

Leave a comment.