Prakash Adhikari June 14, 2023

काठमाडौं, ३२ जेठ । नेपालले आईसीसी विश्वकप ग्लोबल छनोट प्रतियोगिताका नेपालले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाउन आईसीसीलाई पत्राचार गरेको छ ।

जिम्बाब्वेमा अर्को हप्ताबाट सुरु हुन लागेको आईसीसी विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपालले समूह चरणमा खेल्ने चार खेलमध्ये दुई खेलको टेलिभिजनमा प्रत्यक्ष प्रसारण नहुने जानकारी आएपछि नेपाल क्रिकेट संघले पत्राचार गरेको हो।

प्रतियोगिताको आधिकारिक प्रसारक स्टार स्पोर्टसले लिग चरणको सबै खेल नभई महत्त्वपूर्ण खेलहरूको मात्र टेलिभिजनमा प्रसारण गर्न लागेको हो।

त्यसमा नेपालले खेल्ने अमेरिका र नेदरल्यान्ड्स विरुद्धको खेलको प्रत्यक्ष प्रसारण नहुने तालिका सार्वजनिक भएको छ।

प्रतियोगिताको उद्घाटन खेलको रूपमा रहेको आयोजक जिम्बाब्वे र नेपाल अनि नेपाल र वेस्ट इन्डिजबीचको खेल भने प्रत्यक्ष प्रसारण हुनेछ।

समर्थकहरूलाई निराश तुल्याउने खबर

नेपालले छनोट प्रतियोगिता जितेर पहिलो पटक विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो अर्थात् नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्न लागेको यो अत्यन्त महत्त्वपूर्ण प्रतिस्पर्धा हो।

यस्तोमा ठूलो सङ्ख्यामा रहेका नेपाली समर्थकले प्रत्यक्ष प्रसारणबाट भए पनि खेल हेर्ने अवसर गुमाउने छन्।

यसअघि आईसीसीले जिम्बाब्वे यात्रामा सहभागी १० राष्ट्रका लागि राखेको ुवार्म अपु खेलमा पनि एसोसियट राष्ट्रमध्ये नेपाललाई मात्र टेस्ट राष्ट्रसँग खेल राखेको थिएन।

नेपालले प्रायः खेल्दै आएको यूएई र ओमानसँग नै वार्म अप खेल खेल्ने तालिका परेको छ।

स्टार स्पोर्टस सन् २०१५ देखि २०२३ सम्म आईसीसीका खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रसारक हो।

आफ्ना दुई महत्त्वपूर्ण खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण नहुने भएपछि नेपाल क्रिकेट सङ्घले आईसीसीलाई पत्राचार गर्दै ती खेलहरू प्रसारण गर्न माग गरेको क्यानले जनाएको छ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भन्नुभयो, “हामीले यो विषयमा आईसीसीमा पत्राचार गरेका छौँ। ती दुई खेल मात्र होइन, वार्म अप म्याच पनि लाइभ हुनुपर्छ भन्ने हाम्रो माग हो।”

यद्यपि आईसीसीबाट अहिलेसम्म कुनै जबाफ नआएको कार्यवाहक सचिव पाठकले बताउनुभयो।

क्यानले पठायो आईसीसीलाई पत्र
यसअघि पनि टेस्ट राष्ट्रसँग वार्म अप खेल नराखेर नेपालमाथि असमान व्यवहार देखाएको भन्दै क्यानले आईसीसीलाई ध्यानाकर्षण पत्र पठाएको थियो।

तर त्यसमा आईसीसीले ठोस जबाफ भने क्यानलाई दिएन।

कार्यवाहक सचिव पाठकका अनुसार आईसीसी यसमा सकारात्मक हुनसक्छ।

नेपालले आगामी असार ३ गते जिम्बाब्वेसँग विश्वकप छनोटको पहिलो खेल खेल्नेछ।

त्यसपछि असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज तथा लिगको अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।

दक्षिण अफ्रिकामा अभ्यास खेल खेलेर नेपाल जिम्बाब्वे पुगिसकेको नेपालले यूएईसँगको वार्म अप म्याच हारेकोे छ।

असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्र र ६ एसोसिएट गरी कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

समूह ुएु मा रहेको नेपालले पहिलो पटक पूर्वविश्व विजेता वेस्ट इन्डिजसँग ओडीआई राष्ट्रको हैसियतमा पहिलो पटक घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ।

समूह ुबीु मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्।

प्रत्येक समूहबाट ३ टोली गरी ६ टोली सुपर सिक्समा पुग्नेछ र त्यहाँबाट शीर्ष दुई टोलीले भारतमा हुने एक दिवसीय विश्वकपमा प्रवेश पाउनेछन्।(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.