- दमास्कस(सिरिया),१ बैशाख (बीबीसी) । अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले “बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोग” गरेको टिप्पणी गरेका छन्।
- अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो।
- रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएका भए पनि अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ।
- भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई “हस्तक्षेपकारी कार्य” भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्।
- सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण “अन्तर्राष्ट्रिय कानुनको जघन्य उल्लङघन” भएको बताएको छ।
- ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमण “उचित र वैधानिक” भन्दै दाबी गर्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।
- मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् – “तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र (प्रयोगको) मापदण्डप्रति अनादर देखाएका छन्।”
- सिरियाका राष्ट्रिपति बशर अल असदले यो आक्रमणपछि सिरिया र सिरियाली जनताहरू आतङ्कवादलाई निमिट्यान्न पार्न पहिलाको भन्दा झन् प्रतिबद्ध भएका प्रतिक्रिया दिएका छन्। उनले पश्चिमी देशहरूले आफ्नो देशमा आतङ्कवादलाई सघाएको आरोप लगाएका छन्।
- असादसँग गरिएको टेलिफोन कुराकानीमा इरानका राष्ट्रपति हसन रूहानीले सिरियालाई सहयोग दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।