जोनाथन मार्कस
प्रतिरक्षा तथा कूटनीतिक सम्वाददाता
अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको आक्रमणपछि सिरियाका राष्ट्रपति असदको व्यवहारमा केही परिवर्तन देखिएला त?
यो गत सालको भन्दा ठूलो स्तरको आक्रमण हो। यसपालि एकै पटक तीन स्थानलाई निशाना बनाइएको छ।
त्यस बेला अमेरिका एक्लैले कदम चालेको थियो, अहिले ऊसँग फ्रान्सेली र ब्रिटिश साझेदारहरू पनि छन्।
गत वर्षको दाँजोमा सिरियाली निशानाहरूमा दोब्बरभन्दा बढी अस्त्रहरू प्रहार गरिएका छन् – १२० भन्दा बढी।
तर आधारभूत प्रश्न जस्ताको जस्तै छ।
के यो सबै अमेरिकाले आफ्नो लक्ष्य भन्ने गरेको उद्देश्य हासिल गर्न पर्याप्त छ त? उनीहरू राष्ट्रपति असदलाई फेरि पनि रासायनिक अस्त्र प्रयोग गर्नबाट रोक्न चाहन्थे।
असदको विजय
गत वर्षको एप्रिल महिनायता सिरियामा पीडाको अन्त्य भएको छैन। तर दुई आधारभूत कुराहरूमा भने परिवर्तन भएका छन्।
पहिलो, असदको शासनले त्यहाँको युद्धमा विजय हासिल गरेको छ र त्यस क्रममा गैरसैनिक नागरिकहरूलाई आतङ्कित पार्ने कार्यले त्यस्तो रणनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
सिरियाको समग्र भूभागमा राष्ट्रपति असदको पूर्ण नियन्त्रण रहेको छैन। तर रुस र इरानको समर्थनप्राप्त असद विरुद्ध उभिनसक्ने कोही पनि त्यहाँ छैन। आफ्नो नियन्त्रण विस्तार गर्नका लागि उनीसँग जनशक्ति, उपकरण र क्षमताको अभाव रहेको छ।
दोस्रो, वाशिङ्टन र मस्कोबीचको सम्बन्ध – र सामान्यतया रुस र पश्चिमा देशबीचको सम्बन्ध- उल्लेखनीय रूपमा बिग्रन पुगेको छ। अवस्था यस्तो भएको छ कि वरिष्ठ अन्तर्राष्ट्रिय अधिकारीहरू अब नयाँ शीतयुद्धको चर्चा गर्न थालेका छन्।
यिनै सन्दर्भका माझ राष्ट्रपति ट्रम्पले असद सरकारविरुद्ध दण्डात्मक सन्देश दिने निर्णय गरेका छन्। यही सन्दर्भमा नै तिनीहरूले उक्त सन्देश हासिल गरेका हुनुपर्छ।
‘सफ्ट टार्गेट’
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हमलाका क्रममा गैरसैनिक र ”विदेशी” हताहती (रुसी) नहोस् भनेर एकदमै बढी सतर्कता अपनाएको देखिन्छ।
निशाना बनाइएका तीन वटा स्थानको चयन रासायनिक अस्त्र कार्यक्रममा तिनको केन्द्रीय भूमिका र अरू वरपर हुन सक्ने अवाञ्छित क्षति पनि पनि कम होस् भनेर गरिएको थियो।
अब सिरियाका राष्ट्रपति असदले आफ्नो व्यवहार बदल्छन् भन्ने अपेक्षा गरिएको छ। तर व्यापक सिरियाली द्वन्द्वका सम्बन्धमा के हुन्छ त?
यो क्रूर युद्धले समाप्त हुने कुनै लक्षण देखाएको छैन।
युद्धमा प्रयोग भइरहेका ब्यारेल बम, ठूला तोप र गोलीहरु नै सिरियामा भएका ठूलो सङ्ख्याको मृत्यु र घातक चोटपटकका लागि जिम्मेवार छन्, रासायनिक अस्त्रहरू होइनन् भनेर धेरैले औँल्याउने गरेका छन्। र रासायनिक अस्त्रको प्रयोगले नै पश्चिमा कारबाही निम्त्याएको छ।
तर ठूलो प्रश्न चाहिँ यी पछिल्ला आक्रमणले सिरियामा युद्धको स्थितिलाई कुन हदसम्म परिवर्तन गर्छ त भन्ने हो।
यो आक्रमणले त्यहाँको द्वन्द्वलाई अन्त्यको केही नजिक पुर्याएको छ त?
दु:खद जवाफ हो – छैन।