काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।
भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ।
चिनियाँ नागरिक लिनको गोदाममा फेला पर्यो राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन
लिनको गोदाममा सुन गाल्ने मेसिन
हङकङबाट आएको सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ।
राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो।
राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्।
उनले नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड कम्पनी खोलेर सञ्चालन गरिरहेका थिए।
राष्ट्र बैंकले हामीले बरामद एक क्वीन्टल सुन एकैदिनमा गाल्न सक्दैन। तर चिनियाँको मेसिनले छिट्टै गालिसक्ने राजश्व अनुसन्धानका कर्मचारीले बताएका छन् ।
राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो।
गोदामबाट थप सामान बरामद भएको थियो। तर ती सामानभित्र सुन रहे नरहेको खुलाइएको छैन।
यता प्रहरीले सुन प्रकरणमा पक्राउ गर्न थालेपछि चिनियाँ नागरिक लिन भने स्वदेश फर्किने तयारीमा थिए। उनी फर्किन लाग्दा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।
विभागले पत्र पठाउँदै उनलाई ब्ल्याक लिस्टमा राख्न पत्र पठाएको थियो। अध्यागमनले सोही अनुसारको सूचना विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई दिएपछि लिन पक्राउ परेका हुन्।
लिन २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसामा नेपाल आएका थिए।
तर त्यसपछि पटक पटक भिसा थप गर्दै नेपालमै बसिरहेका थिए। २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा थपेर नेपाल बसे।
२०२३ अप्रिल १६ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको ब्यापारिक भिसा लिएका थिए। त्यो भिसाको म्याद २०२३ अगस्ट ९ सम्म थियो।
यो प्रकरणमा राजस्वको टोलीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन, एकजना तिब्बली मुलका भारतीय नागरिक छन्। अरु अध्यागमन विभागका कर्मचारी, भन्सार एजेन्ट समेत छन्।
राजेशकुमार अडुकियाको घरमा छापा
राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो।
विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ।
उनी यसअघि गोर्खा विकास बैंकको घोटलामा विवादित बनेका व्यक्ति हुन्। उनको पछिल्लो ट्राभल हिष्ट्रीका आधारमा अनुसन्धानले निगरानी बढाएको थियो।