Prakash Adhikari April 18, 2018

काठमाडौं, ५ बैशाख। अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार दातृ निकायका नेपालस्थित प्रतिनिधिसंग देशको आर्थिक अवस्था र विदेशी सहयोगको सम्बन्धमा छलफल गरेका छन् ।

देशको आर्थिक अवस्थाका बारमो श्वेतपत्र जारी गरेको करिब २० दिनपछि दातृ निकायका प्रतिनिधिसमक्ष अर्थमन्त्री खतिवडाले पूर्वाधार विकास र संघीयता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।

अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासमा नेपाललाई ठूलो रकम आवश्यक परेकाले त्यसमा सहयोग गर्न दादाहरूलाई आग्रह गरेका छन्। ‘श्वेतपत्रमा मैले इमानदारीपूर्वक नेपालको अवस्था चित्रण गरेको छु, यसमा केही आलोचना भएको पनि मैले सुनेको छु,’ दातृ निकायका प्रतिनिधिको गुनासो सम्बोधन गर्दै अर्थमन्त्रीले भने, ‘हामी यही जगमा टेकेर नेपालको आर्थिक विकासमा अघि बढ्न खोजिरहेका छौँ। तपाईँहरूले अब यसैका आधारमा नेपाललाई सहयोग गर्नुहोस्।’

खतिवडाले विगतमा सहयोग कार्यान्वयमा केही कमी कमजोरी देखिएको भए पनि अब त्यो नदोहोरिने उल्लेख गरे। ‘सहयोग कार्यान्वयनमा केही समस्या थिए होला, भने जसरी कार्यक्रम कार्यान्वयन नहुने अवस्था थियो,’ उनले भने, ‘अब त्यस किसिमका कमजोरी हुने छैनन्।’

नेपालमा पहिलो पटक वित्तीय संघीयता कार्यान्वयन हुन लागेको र यो विषय नेपालका लागि नौलो अनुभव भएकाले त्यसमा दातृ निकायहरूबाट सहयोगको अपेक्षा गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गरेका छन्।

उनले दाताको सहयोग क्षेत्र विशेषमा केन्द्रित हुनुपर्ने र त्यसले ठोस नतिजा पनि दिनुपर्नेमा जोड दिएका छन्।

छलफलमा दातृ निकायका प्रतिनिधिहरूले संघीय संरचनामा आफूहरूको भूमिका कस्तो हुने भन्दै प्रश्न उठाएका थिए। त्यसको जवाफमा मन्त्री खतिवडाले दातृ निकायले गरेको सहयोग विभिन्न क्षेत्रमा छरिएको भन्दै अब त्यसलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए।

ुग्रामीण क्षेत्रमा पूर्वाधार विकासको ठुलो आवश्यकता रहेको भन्दै मन्त्री खतिवडाले दातृ निकायका प्रतिनिधिलाई क्षेत्रगत रूपमा सहयोग केन्द्रित गरेर जान पनि आग्रह गरेका छन्।

दातृ निकायका सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनमा भएको ढिलाइका विषयमा पनि उनीहरूले अर्थमन्त्रीसमक्ष प्रश्न उठाएका थिए।

अर्थमन्त्री खतिवडाले कतिपय आयोजना कार्यान्वनका लागि नयाँ तरिकाले अघि बढ्नुपर्ने आवश्यकता पनि देखिएको भन्दै आफूहरूसँग नयाँ म्यान्डेट भएकाले अब त्यसैअनुरुप अघि बढ्ने उल्लेख गरे।

अर्थमन्त्री डा. खतिवडाले नेपालको प्राथमिकता गरिबी निवारणमा पनि भएकाले त्यसका लागि सहयोग बढाउन उनले दातृ निकायका प्रतिनिधिलाई आग्रह गरेका छन्।

अर्थमन्त्री खतिवडाले भ्रष्टाचारका सन्दर्भमा नेपालले शून्य सहनशीलताको नीति लिएको र सदाचार नीति पनि कार्यान्वयनका चरणमा रहेकाले आफूहरू तत्काल उपलब्धि देखिने गरी काम गर्न लागिरहेको प्रष्ट्याएका छन्।

छलफलमा स्वीट्जरल्याण्डका प्रतिनिधिले नेपालमा विकासका नाममा वातावरणको दोहन भएको भन्दै चासो राखेका थिए।

Share Now

Leave a comment.