Prakash Adhikari August 28, 2023

काठमाडौं, ११ भाद्र । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजार केही उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार यस दिन नेप्से परिसूचक ५.०९ अंक बढेर १९९८.४८ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन विभिन्न कम्पनीका २ सय ७९ स्टकको ३६ लाख ७० हजार कित्ता शेयरको किनबेचबाट ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

मर्जरपश्चात नेप्सेमा सूचीकृत भइ यसै दिनदेखि कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य यस दिन करिब ५ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको करिब ५ करोडको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।

 

Share Now

Leave a comment.