काठमाडौं, ११ भाद्र । सत्ता गठबन्धनका एक शीर्ष नेताले अमेरिकी सहयोग संस्था मलिनियम च्यालेञ्ज कर्पोरेशन((एमसीसी)को व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठाउनुभएको छ ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनुभएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहनुभएका नेपालले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन पनि आग्रह गर्नुभयो। उहाँले सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतिको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताउनुभयो।
‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु आइसकेका छन्। केही जल्दाबल्दा विषयहरू छन्। एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन? भन्नेबारेमा पनि कुरा उठिसकेको छ,।’
अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको पनि बताए।
नेता नेपालले थप्नुभयो, ‘हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन्। सीमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरू छन्। संयुक्त राष्ट्रको वडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ।’


















