अहमदावाद( गुजरात, भारत), ८ बैशाख (बीबीसी) । भारतको गुजरात राज्यमा भएको दङ्गासम्बन्धी एउटा मुद्दामा एक जना वरिष्ठ भारतीय जनता पार्टीकी नेत्रीलाई सुनाइएको सजाय त्यहाँको एउटा अदालतले उल्टाइदिएको छ।
सन् २००२ मा भएको दङ्गामा भूमिका रहेको भन्दै गुजरातकी पूर्वमन्त्री माया कोडनानीलाई २८ वर्षको जेल सजाय सुनाइएको थियो।
उक्त दङ्गाका क्रममा भएको ९७ जनाको हत्यामा उनको भूमिका रहेको आरोप लागेको थियो।
सन् २०१२ मा सुनाइएका फैसलाविरुद्ध ३२ जनाले गुजरात उच्च अदालतमा अपील गरेका थिए।
तीमध्ये कोडनानी पनि एक थिइन्।
अहमदाबादबाहिरको नरोदा पटियामा भएको दङ्गामा उनीहरूको भूमिकाका लागि अन्य ३० जनाले आजीवन कारावासको सजाय पाएका थिए।
तर उच्च अदालतले दक्षिणपन्थी हिन्दू समूह बजरङ्ग दलका पूर्वनेता बाबु बजरङ्गीलाई दिइएको सजाय भने कायमै राखेको छ।
उनको मृत्यु नभएसम्म उनलाई जेलमै राख्न भनिएको थियो।
साक्षी
बीबीसी गुजराती सेवाका अनुसार माया कोडनानीलाई अदालतले ‘शङ्काको सुविधा’ मा छाडेको छ।
उनले एउटा हिन्दू भिडलाई उकासेको भन्ने आरोप पुष्टि गर्ने कुनै साक्षी नभएका कारण उनलाई छाडिएको बताइएको छ।
विशेष अनुसन्धान टोलीले छानबिन गरेपछि मात्रै उनलाई आरोपितका रूपमा राखिएको बताइएको छ।
दङ्गाका कारण एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।
तीमध्ये अधिकांश मुसलमान थिए।
उक्त घटना भारतकै सबैभन्दा खराब हिंसामध्येको एक हो।
हिंसा
गोदरा शहरमा एउटा रेलमा भएको आगलागीमा ६० हिन्दू तीर्थयात्रीको ज्यान गएपछि हिंसा भड्किएको थियो।
रेलमा आगो लगाएको आरोप मुसलमानहरूमाथि थियो।
कोडनानी दङ्गाका बेला मन्त्री थिइनन्।
तर उनलाई तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले महिला र बालबालिका विकाससम्बन्धी कनिष्ठ मन्त्री नियुक्त गरेका थिए।
उनी मोदीकी निकट सहयोगी हुन्।
सन् २००९ मा पक्राउ परेपछि उनले पदबाट राजीनामा दिएकी थिइन्। तर त्यसपछि पनि उनी राज्यसभाको सदस्य रहिरहिन्।