काठमाडौं, २६ भाद्र। राष्ट्रपति रामचन्द्र पौडेललाई वीपी कोइरालाको भाषण उपहारस्वरुप प्रदान गरिएको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवास भाषण हस्तान्तरण गर्नुभएको हो।
तत्कालीन प्रधानमन्त्री कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलको अस्तित्व स्वीकार गर्न दक्षिण एसियाली राष्ट्र डराइरहेको बेला कोइरालाले स्वतन्त्र राष्ट्र स्वीकार्दै सम्बन्ध स्थापना गर्नुभएको थियो।
सम्बन्ध कायमपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले हस्तान्तरण गर्नुभएको हो ।


















