काठमाडौँ, ३० भाद्र । काठमाडौँको गैह्रीगाउँमा ऐकै परिवारका तीनसहित चार जनाका हत्या भएको छ । शनिबार बिहान हत्या गरेको अवस्थामा फेला परेका चारवटा शवको प्रहरीले सनाखत भएको जनाएको छ।
धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य स-मिलमा फेला परेका २ पुरुष र २ महिलाको शवको सनाखत भएको हो।
हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गएराति करिब १२ बजे तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ।
प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको जनाएको छ।
गैरीगाउँबाट सिनामंगलतर्फ जाने सडक किनारामै जोडिएको दिव्य स(मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो।
चारवटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


















