काठमाडौं,३० भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै हुनुहुन्छ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उहाँ न्यूयोर्क प्रस्थान गर्न लाग्नुभएको हो।
उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उहाँ अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने छ।
अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।
उहाँले संयुक्त राष्ट्रस.घका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनुहुने छ।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


















