Prakash Adhikari October 15, 2023

लगनखेल(ललितपुर), २८ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन÷ बाथरोग विशेषज्ञ प्रा.डा बुद्धिप्रसाद पौड्यालले बाथ रोगको रोकथामको लागि सरकारले लगानी गर्नुपर्ने बताउनुभएको छ ।

विश्व बाथरोग दिवस अक्टोबर १२ को अवसरमा बाथरोग मैत्री समाज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाटन अस्पतालको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको होे ।

कार्यक्रममा विशेष बक्क्ताको रुपमा पाटन हस्पिटलका वरिष्ठ फिजिसियन÷ बाथरोग विशेषज्ञ प्राडा बुद्धिप्रसाद पौड्यालले नेपालमा बाथरोगको विगत, बत्र्तमान, भविष्य र बाथरोग दिवशको महत्वबारे प्रकाश पार्नुभएको थियो । डा पौड्यालले बाथरोग निवारणमा सरकारले लगानी नै नगरेको र अरु रोग सरह यस रोगलाई प्राथमिकतामा नराखेको बताउनुभयो ।

उहाँले नेपालमा अनुमानित १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग रहेको र पछिल्ला बर्षहरुमा झन् बढ्दै गएको भएपनि सरकारले चिन्ता नदेखाएको बताउनुभयो ।

साथै यस रोगको औषधी उपचार समेत खर्चिलो रहेको डा पौड्यालले बताउनुभयो । पछिल्ला बर्षहरुमा नेपालमा पनि बाथरोगको उपचार सुबिधाहरु बढ्दै गएको उहाँले बताउनुभयो । डा पौड्यालले सरकारले नीति नै बनाएर बाथरोग निवारणमा पहलकदमी थाल्नुपर्ने उल्लेख गर्नुभयो ।

विरामी,स्वास्थ्यकर्मी, सञ्चारकर्मी र नीति निर्मातालाई यस रोगको बारेमा जानकारी दिने उदेश्यसाथ गरिएको त्यस कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ उपप्राध्यापक डा. लक्की शर्माले बाथरोगका प्रकारहरु, पहिचान र व्यवस्थापनका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी पाटन अस्पतालका अर्का वरिष्ठ बाथरोग विशेषज्ञ उपप्राध्यापक डा केशवराज सिग्देलले बाथरोग सम्बन्धी भ्रम र तथ्यहरुबारे प्रकाश पार्नुभयो । कार्यक्रममा बाथरोग लागेर उपचारपछि स्वास्थ्य लाभ गरिरहेका विभिन्न ब्यक्तिहरुले आफना भोगाइहरु सुनाउनुभएको थियो ।

वरिष्ठ सञ्चारकर्मी एवं बाथरोगमैत्री समाजका उपाध्यक्ष रुपा विमल क्षेत्रीले बाथरोग लागिसकेपछि उपचारका क्रममा आफुले भोगेका अनुभवहरु सुनाउनुभएको थियो । उहाँले बाथरोग सामान्य नभएको र सही उपचारका लागि विशेषज्ञ डाक्टरको सेवा लिनुपर्ने बताउनुभयो । निरन्तरको औषधी उपचार र योगाभ्यासले अहिले आफु बाथरोगबाट मुक्त भएको उहाँको अनुभव छ ।

त्यसैगरी नेपाल बाथरोग मैत्री समाजका सल्लाकार तथा निर्वतमान अध्यक्ष मोहन न्यौपानेले आफनो सम्पुर्ण परिवारका सदस्यहरु नै बाथरोगबाट पीडित भएपनि निरन्तरको औषधी उपचार, सकारात्मक सोच र धैर्यताले सक्रिय जीवन बाँचिरहेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाल बाथरोग मैत्री समाजका आजिवन सदस्य एवं लुपश सोसाइटी नेपालका अध्यक्ष बबिता बुढाथोकीले पनि बाथरोग बारे आफना भोगाइहरु सुनाउनुभएको थियो ।

कार्यक्रममा प्रा.डा नबिशमान सिंह प्रधान (विभागीय प्रमुख अर्थोपेडिक विभाग, पाटन अस्पताल) ले बाथरोग र हाडजोर्नी सम्बन्धी जटिलताबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी डा भिष्म पोखरेल (पेडियाट्रीक बिभाग, पाटन अस्पताल ) ले बाल्यावस्था र बाथरोग विषयमा आफना धारणा राख्नुभयो । त्यसैगरी बाथरोग मैत्री समाजका अध्यक्ष मेनुका आचार्यले नेपाल बाथरोग मैत्री समाजको गठन, उदेश्य, कार्यक्रम र औचित्यमाथि प्रकाश पार्नुभयो ।

 

Share Now

Leave a comment.