Prakash Adhikari October 16, 2023

काठमाडौं, २९ असोज। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड पछि सरकारले लिएको नीतिले मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै तत्काल सुधारको कदम चाल्नुपर्ने बताउनुभएको छ।

सोमबार नेपाल आर्थिक पत्रकार समाजका सदस्यहरुसँगको छलफलमा अध्यक्ष ढकालले अर्थतन्त्रमा सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारसँग माग गर्नुभयो।

‘मुलुकमा श्रीलंकामा जस्तै संकट निम्तिन्छ भन्ने मनोविज्ञानबाट अवलम्बन गरिएका नीतिले अर्थतन्त्रमा असर गर्‍यो। अहिलेको अवस्थाबाट बाहिर आउन निजी क्षेत्रको मोरल बुस्टअप गर्न आवश्यक छ,’ उहँले भन्नुभयो, ‘निजी क्षेत्रको मनोबल उठाउन नीतिमा के कस्ता लचकता अपनाउन आवश्यक छ भन्नेबारे सुझाव दिन सरकारले उच्चस्तरीय समिति गठनमा ढिलाइ गर्नु हुँदैन।’ अध्यक्ष ढकालले टालटुले नीतिले अहिकेको क्राइसिसबाट पार पाउन नसकिने बताउनुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले दुई वर्ष अगाडि दिएका सुझावलाई बेवास्ता गर्दा मुलुकको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको बताउनुभयो। उहाँले व्यवसायीको मनोबल बढाउन ब्याजदर र कर घटाउनुपर्नेमा जोड दिनुभयो।

Share Now

Leave a comment.