काठमाडौं, २९ असोज । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । आयोजनालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा बन्ने कृषि विकास बैंक र माछापुछ्रे बैंकले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ऋण लगानीसम्बन्धी संझौता आज राजधानीमा सम्पन्न भएको छ ।
लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम र पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोशन मल्लले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बरिष्ठ नायवप्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदीप खतिवडा र सिभिल इन्जिनिय प्रमुख शिवसागर यादवको उपस्थिति रहेको थियो ।
यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने सम्झौतामा उल्लेख छ ।
२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माण भइरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्रबल्लभ पन्तले जानकारी दिनुभएको छ ।
आयोजनाको सम्पन्न हुने समय २०८२ सालको असोज २८ गते तोकिए पनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिनुभएको छ ।
यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ बर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कम्पनीले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


















