जोर्ज राइट / बीबीसी न्यूज
पोर्टल्याण्ड(ओरेगन, संयुक्त राज्य अमेरिका),११ असोज (बीबीसी) । ड्युटीमा नभएका एक जना पाइलटले अलस्का एअरलाइन्सको एउटा विमान दुर्घटनामा पार्ने प्रयास गरेको भनिएपछि त्यस बेला आफूलार्य मानसिक आघात भएजस्तो अनुभव गरेको बताएको अदालती दस्ताबेजहरूमा देखिएको छ।
जोसेफ डेभिड एमर्सनले प्रहरीलाई पनि आफूले मस्तिष्कमा बलियो प्रभाव पार्ने किसिमको (साइकेडेलिक) च्याउ खाएका कारण उदास बनेको बताउनुभएको थियो।
ओरेगनको एक अदालतमा मङ्गलवार उहाँले हत्या प्रयासका ८३ वटा अभियोगमा आफू दोषी नरहेको बताउनुभयो।
आइतवार उक्त सन्दिग्ध घटना हुँदा उहाँ कक्पिटमा क्याप्टेनका पछाडि बस्नुभएको थियो।
दस्ताबेजहरूका अनुसार एमर्सनले विमानको इन्जिन बन्द गर्ने शटअफ ह्यान्डल समात्नुअघि पाइलटहरूलाई आफू ठिक नभएको बताउनुभएको थियो ।
दुर्घटना टर्यो
जोसेफ डेभिड एमर्सन आफ्नो प्रयासमा सफल भएका भए जेट इन्जिनमा आगोका झिल्काहरूसँग जुझ्ने अग्निनियन्त्रक प्रणाली सक्रिय हुन्थ्यो र इन्धन आपूर्ति रोकिन्थ्यो।
उक्त फौजदारी आरोपको उजुरीमा उल्लेख गरिएअनुसार एकजना पाइलट एमर्सन नरोकिँदासम्म ककपिटका अन्य विमान चालकहरु उहाँसँग भिड्नु परेको थियो र अन्ततः उहाँलाई कक्पिटबाट बाहिर निकालिएको थियो। यो पूरा घटना झन्डै ९० सेकेन्ड चलेको थियो।
शान्त पारिएपछि एमर्सनले विमान परिचालकहरूसँग भन्नुभएको थियो, “तिमीहरूले मलाई अहिले पिट्नुपर्छ, अन्यथा त्यो नराम्रो हुनेछ।”
त्यसपछि विमान ओर्लने बेलामा उहाँ नजिकैको आपत्कालीन ढोकाको ह्यान्डलनजिकै पुगेको ती दस्ताबेजहरूमा उल्लेख छ।
एकजना परिचालकले अनुसन्धानकर्ताहरूलाई बयान दिने क्रममा एमर्सनले आफूले सबै थोक भद्रगोल पारेको र सबैलाई मार्न खोजेको बताउनुभयो।
कुनै प्रतिवाद नगर्ने
प्रहरीको सोधपुछका बेला एमर्सनले आफूलाई ूमानसिक आघात भएकोू र ४० घण्टासम्म नसुतेको बताउनुभयो।
“मैले आपत्कालीन समयमा इन्धन बन्द गर्ने ह्यान्डल तानेँ किनकि मलाई आफूले सपना देखेजस्तो लागिरहेको थियो र म ब्युँझिन खोजिरहेको थिएँ”, उहाँले भन्नुभयो, “मलाई आफू ठिक अवस्थामा रहेकोझैँ लागेन। पाइलटहरूले त्यस अवस्थालाई राम्ररी ध्यान दिएजस्तो लागेन। उनीहरूले ध्यान दिएनन्….त्यो ठिक लागेन।”
उहाँले थप्नुभयो, “मैले के गरेँ सबै स्विकारेको छु। तपाईँहरूले मेरा विरुद्ध लगाउने कुनै पनि आरोपको प्रतिवादमा म लड्नेछैन।”
उक्त समय एमर्सन कुनै ुसाइकेडेलिकु तत्त्वको प्रत्यक्ष प्रभावमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको संयुक्त राज्य अमेरिकाको न्यायाधिवक्ता कार्यालयका एक प्रवक्ताले बीबीसीलाई बताउनुभएको छ।
हत्या प्रयासको आरोपका अतिरिक्त एमर्सनलाई लापरबाहीपूर्ण तरिकाले खतरा उत्पन्न गराएको भनी ८३ ओटा आरोप लगाइएको छ। साथै विमानलाई खतरामा पारेको अर्को एउटा आरोप पनि छ।
यात्रुहरूलाई पत्तै भएन
उक्त विमान ८० यात्रुहरूलाई लिएर वाशिङ्टनको एभरटबाट क्यालिफोर्नियाको सान फ्रान्सिस्कोका लागि उडेको थियो। उक्त घटनापछि यसलाई ओरिगनको पोर्टल्यान्डतर्फ पठाइयो।
एअर ट्राफिक कन्ट्रोल कर्मचारीहरूबीचको कुराकानीको रेकर्डमा एक जना चालकले भनेको सुनिन्छ, ूइन्जिन बन्द गर्न खोज्ने मानिसलाई हामीले कक्पिटबाटै समातेका छौँ तर उनलाई आफूले अहिले कुनै समस्या उत्पन्न गराइदिएको जस्तो लागेको छैन जस्तो छ।ू
ूमलाई लाग्छ उनी अब नियन्त्रणमा आए,ू उहाँले भन्नुभयो । उहाँले विमान जमिनमा पुगेर पार्क हुनेबित्तिकै प्रहरीको उपस्थितिका लागि आग्रह पनि गर्नुभयो।
विमान परिचालकहरूले विमानलाई तत्कालै ल्यान्ड गराउनुपर्ने आवश्यकता परेको बताउनुअघिसम्म यात्रुहरूलाई कुनै समस्या परेजस्तो नलागेको अब्री ग्याभेलो नामकी एक यात्रुले एबीसी न्यूजलाई बताउनुभएको छ।
पछि यात्रुहरूलाई चिकित्सकीय कारणले ल्यान्ड गराउनुपरेको बताइयो।
कुनै जोखिम बाँकी छ ?
ग्याभेलोले उक्त सञ्चारमाध्यमलाई बताएअनुसार एक विमान परिचालकले सन्दिग्ध व्यक्तिलाई भन्नुभएको थियो, ूहामी सबैलाई ठिक हुन्छ, सबै ठिक छ, हामी तपाईँलाई विमानबाट निकालिदिन्छौँ।ू
ूत्यसैले मलाई लाग्यो यो गम्भीर चिकित्सकीय आपत्को अवस्था थियो,ू उहाँले भन्नुभयो।
अर्का यात्रुले उक्त अवस्थालाई व्यावसायिक किसिमले व्यवस्थापन गरिएको र यात्रुहरूलाई सङ्कटबारे थाहै नभएको बताउनुभयो।
सोमवार अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले विमान कम्पनीहरूलाई पठाएको एक निर्देशनमा उक्त घटना ूवर्तमान विश्वका अन्य घटनासँग कुनै तरिका, आकार वा स्वरूपमा पनि नजोडिएकोू बताइएको छ।
सोमवारै एक विज्ञप्तिमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले घटनाको आफूले अनुसन्धान गरिरहेको र ूयस घटनासँग सम्बन्धित कुनै जोखिम नभएको भनी यात्रारत सर्वसाधारणहरूलाई निश्चिन्त गराउन सक्नेू बताएको थियो।


















