न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ११ कार्तिक । राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष सत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको ‘मानवीय सहायताका लागि गाजामा युद्धविराम’को प्रस्तावलाई बहुमतले पारित गरेको छ।
एक सय २० देशहरू उक्त प्रस्तावको पक्षमा उभिए पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिए।
इजरेलको बलियो साझेदार अमेरिकाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्यो भने मुख्य युरोपेली देशहरू कोही मतदान प्रक्रियामा सहभागी भएनन् वा पक्षमा मतदान गरे।
नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ। भारत मतदान प्रक्रियामा सहभागी भएन भने चीनले प्रस्तावको पक्षमा मतदान गरेको छ। यूके मतदान प्रक्रियामा सहभागी भएन।
उक्त प्रस्तावको विपक्षमा १४ देश देखिए भने मतदान प्रक्रियामा ४५ देशहरू सहभागी भएनन्।

महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी कदम नभए पनि नैतिक हिसाबले साङ्केतिक रूपमा त्यसलाई अर्थपूर्ण मानिन्छ।
राष्ट्रसङ्घका लागि इजरेलका प्रतिनिधिले उक्त प्रस्तावका शब्दहरूलाई “एक कलङ्क” बताउँदै राष्ट्रसङ्घसामू “वैधता र सान्दर्भिकताको एक अंश समेत बाँकी नरहेको” टिप्पणी गरेका थिए।
गुटेरसले दोहोर्याए युद्धविरामको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजामा युद्धविरामको आह्वान दोहोर्याउँदै जारी घटनाक्रमलाई निर्णायक क्षण बताएका छन्।
सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै उनले “इतिहासले हामी सबैको हेक्का राख्नेछ” भनेका छन्।
युद्ध थप चर्किएसँगै बन्धकहरूको रिहा र गाजामा मानवीय सहायताका लागि लडाइँ रोक्नका लागि वार्ताहरू प्रस्टसँग रोकिएको एक बीबीसी संवाददाताले बताएका छन्।
अक्टोबर ७ मा हमासले गरेको हमलामा १,४०० मानिसहरू मारिएका थिए। उनीहरूले २२९ जनालाई अपहरण गरेर बन्धक बनाएका छन्।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले त्यहाँ पछिल्लो जवाफी हमला सुरु गरेयता सात हजार मानिसहरू मारिएका छन्।

सो प्रस्तावले गाजामा सहायता लैजान दिनुपर्ने माग गरेको छ।
अरब समूहका तर्फबाट जोर्डनले पेस गरेको उक्त प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको “तत्काल र नि:सर्त रिहा” गर्न माग गरिएको छ।
त्यसमा अन्तर्राष्ट्रिय कानुन अनुसार बन्धकहरूको सुरक्षा, हित र मानवीय व्यवहारको माग गरिएको छ।
त्यसमा १,४०० मानिसहरूको ज्यान जाने गरी अक्टोबर ७ मा हमासले गरेको हमलाहरूबारे स्पष्ट उल्लेख गरिएको छैन।
क्यानडा, यूके र कैयौँ युरोपेली देशहरू उक्त प्रस्तावमा हमासको सीधा निन्दा गरिनु पर्ने भन्दै मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रस्तावको समर्थन गर्ने युरोपेली देशहरूमा स्पेन, पोर्चुगल, फ्रान्स, बेल्जियम लगायत छन्।
पछिल्लो अवस्था
इजरेलले गाजामा आफ्ना स्थल फौजहरू हमासलक्षित “कारबाहीलाई व्यापक पारिरहेको” जनाएको छ।
इजरेली युद्धक विमानहरूले व्यापक हमला गरिरहँदा त्यस क्षेत्रमा ठूला विस्फोटन देखिएका छन्।
हमासले उत्तरी गाजामा लडाइहरू भइरहेको जनाएको छ जहाँ इजरेली फौज र ट्याङ्कहरू प्रवेश गरेको विवरणहरूमा जनाइएको छ।
तर सैन्य अधिकारीहरूले त्यो नै जमिनतर्फबाट अपेक्षित हमलाको सुरुवात भएको वा नभएकोबारे केही बोलेका छैनन्।
यसअघि इजरेली सेनाका एकजना प्रवक्ताले गाजा सहरका नागरिकहरूलाई सुरक्षित रहनका लागि दक्षिणतर्फ जान भनेका थिए।
सञ्चार सञ्जालले काम नगर्दा गाजाका नागरिकहरूसँग सम्पर्क हुन सकिरहेको छैन।
मानवीय सहायतासम्बन्धी निकायहरूले त्यहाँको अवस्था भयावह रहेको चेतावनी दिएका छन्।
राष्ट्रसङ्घको प्यालेस्टाइनका लागि मानवीय सहायता संयोजक ल्यान हस्टिङ्सले ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको’ बताएकी छन्।


















