Prakash Adhikari October 28, 2023

लेखनाथ, ११ कात्तिक : मोरङ विराट चोक निवासी खगेन्द्र तिमिल्सेनालाई पोखरा फेवातालको पानीमाथि ताल बाराही देवीका मूर्ति छ भन्ने कुरा यस अगाडि नै थाहा थियो ।

कोजाग्रत पूर्णिमा दिन देवीको दर्शन गर्न आउने मेसो उहाँलाई मिलेको थिएन । यसपटक भने उहाँले फुर्सद निकालेर परिवारसहित मुस्ताङको मुक्तिनाथ दर्शनसँगै आज पोखराको ताल बाराही देवीको दर्शन गर्न आउनुभएका तिमिल्सेनाले भन्नुभयो, “फेवाताल र ताल बाराही मन्दिर स्वर्गको टुक्रा जस्तै लाग्यो ।”

ताल बाराही मन्दिरको दर्शनसँगै आइतबार ग्रहण नुहाउन चितवनको देवघाट जाने र त्यतैबाट घर फर्कने सोच बनाउनुभएका तिमिल्सेनाले भन्नुभयो, “मुक्तिनाथ र ताल बाराही देवीको दर्शनले हिन्दू धर्मप्रतिको विश्वास जगाएको छ ।”

गोरखाको आरुघाटबाट ताल बाराही देवीको दर्शन गर्न आउनुभएका कृष्ण लामिछानेले भन्नुभयो, “दसैँसँगै देवीका शक्तिपीठमा दर्शन गर्ने सोचअनुसार यसवर्ष पोखराको फेवातालमा अवस्थित ताल बाराही देवीको दर्शन गर्न आएको हुँ ।”

पोखरा महानगरपालिका–३२ खुदी निवासी रमा अधिकारीले परापूर्व कालदेखि नै कोजाग्रत पूर्णिमाका दिन ताल बाराही मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने भएकाले आफू हरेकजसो वर्ष दर्शन गर्न यहाँ आउने गरेको बताउनुभयो । विश्वकै पर्यटकीयस्थल पोखरा–६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित ताल बाराही मन्दिर पुनः निर्माण गर्न लागिएका कारण ताल बाराही देवीको पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न यस वर्षको कोजाग्रत पूर्णिमा पनि दर्शनार्थीको सङ्ख्या भने घटेको छ्रन् ।

मन्दिरका पुजारी निर्मल पहारीका अनुसार कोजाग्रत पूर्णिमाका दिन परापूर्व कालदेखि ताल बाराही देवीको दर्शन गर्न भत्तजनको घुइँचो लाग्दै आउने गरेको र देवीको दर्शन गर्नले मनले चिताएको कुरा पुग्ने विश्वास रहदै आएको छ । ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषध्यक्ष निर्मल खत्रीले सयौँ वर्षदेखि कोजाग्रत पूर्णिमाका दिन ताल बाराही देवीको दर्शन गर्न विशेष मेला लाग्दै आएको र त्यही परम्परा अहिलेसम्म चलेको बताउनुभयो । उहाँका अनुसार कोजाग्रत पूर्णिमाका दिन मात्र ताल बाराही देवीको दर्शन गर्न चार–पाँच हजारको सङ्ख्यामा दर्शनार्थीको आउने गरेका छन् ।

मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको पाइन्छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यही मन्दिर स्थापना गरी ताल बाराही देवीको रूपमा पूजाआजा गर्न थालिएको पछि त्यही मन्दिर स्थापना गरिएको भनाइ ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।

तीन दशकयता ताल बाराही देवीको मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभई तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको छ ।

फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ देखि भएको अर्का पूजारी परशुराम पहारीले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउने गर्छ ।

हाल भत्काइएको मन्दिर विसं २०१७ मा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गर्नुभएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजना तयार गरिएको जानकारी ताल बाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनःनिर्माणसँगै अन्य संरचना निर्माणका लागि उक्त रकम खर्च गरिने भएको छ ।
–––

Share Now

Leave a comment.