काठमाडौं, २० कार्तिक। सरकारले गाँजा खेतीको औषधीय उपयोगिता सम्बन्धमा सम्भावना अध्ययन गर्न समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा बजेट कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गर्न मुख्यसचिवसहित अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गाँजा खेतीको विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका डीआईजी सदस्य रहनुहुनेछ ।
समितिलाई काम सुरू गरेको १ महिनाभित्र नेपालमा गाँजा खेतीको सम्भावना, त्यसका लागि सरकारले गर्नुपर्ने कानुनी सुधारलगायतका विषय समेट्दै प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्री महतले औषधीय प्रयोजनका लागि गाँजाको सम्भावना भए सरकारले गर्नुपर्ने कामका विषयमा तत्कालै सुझाव दिन निर्देशन दिनुभएको छ । उहाँले चालु आर्थिक वर्षको बजेटमा गाँजा खेतीको व्यावसायिक सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो ।
औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने माग नेपालमा धेरै पहिलेदेखि उठाइदै आइएको थियो ।


















