काठमाडौं, २२ मंसिर । एनसेलको शेयर बिक्री प्रकरणले नेपालमा लगानी गर्ने लगानी कर्तालाई नाफा र गरेको लगानी फिर्ता लैजान तथा हक हस्तान्तरण गर्न सजिलो छैन भन्ने भाष्य स्थापित भैरहेको बेला आफ्ना कमजोरी छोप्न नेपाल राष्ट् बैंकका गभर्नर महाप्रसाद अधिकारी र सांसद स्वर्णिम वाग्लेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ ।
बुधबार भएको अर्थ समितिको बैठकमा हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर बिक्री सम्बन्धमा बैंकर र व्यवसायी अलग हुनुपर्छ भन्ने अभिव्यक्ति दिएर आफ्नो गैरजिम्मेवारीपना उजागर गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकमा जागिर जीवन व्यतित गरेर डेपुटी गभर्नरबाट रिटायर्ड हुनुभएका गभर्नर अधिकारीले उहाँकै कार्यकालमा नेपालमा धेरै बैंकलाई स्थापना, मर्जर र एक्विजिसन, शेयर स्वामित्वको परिवर्तनका अनुमति दिनुभएको थियो । तर समितिको बैठकमा भने उनले अनौठो कुरा उठाएर प्रतिनिधिसभाको अर्थसमितिका सांसदहरुलाई बेवकूफ बनाउनुभयो । उहाँले आफूहरुले बैंकर उद्योगी व्यापारी छुट्टाउन चाहेको र उद्योगी ब्यापारीलाई बैंकको स्वामित्व लिन नदिन प्रतिबद्ध रहेको झूटो कुरा बोल्नुभयो ।
हिमालयन बैंकको संस्थापक शेयर खरिदको बारेमा आफूले औपचारिक जानकारी पनि नपाएको अर्को झूट पनि उहाँले त्यहाँ बोल्नुभयो ।
तर आशा खबरलाई प्राप्त दस्तावेजमा हिमालयन बैंकको संस्थापक पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा सेयर बिक्री गर्न चाहेको जानकारी गभर्नर अधिकारीले मंसिर १४ गते नै पाउनुभएको थियो।
गभर्नर अधिकारीले मंसिर २० गते समितिको बैठकमा आएर यसबारेमा आफूलाई जानकारी नभएको जिकिर गर्नुभयो। जबकि हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले राष्ट्र बैंकका नाममा औपचारिक पत्र लेख्दै सेयर खरिद बिक्रीका लागि स्वीकृति माग गरिसक्नुभएको छ।
‘सेयर खरिद बिक्रीका लागि बैंक नियमन विभागको स्वीकृति आवश्यक भएकाले यहाँको स्वीकृति पाउँ’ राणाले विभागीय प्रमुखलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ।
पत्रमा भनिएको छ( हिमालयन बैंक लिमिटेडका संस्थापक सेयरधनी हबिब बैंक लिमिटेड पाकिस्तानले आफ्नो नाममा दर्ता कायम रहेको २ करोड ८० लाख १२ हजार ४४६ कित्ता संस्थापक शेयर (१२.९३ प्रतिशत) हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई बिक्री गर्न सेयर खरिद बिक्री सम्झौता सम्पन्न गरेको जानकारी गराउन चाहन्छौं।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले स्वीकृति माग गर्न पत्र मात्र लेखेनन्, हबिब बैंकले पठाएको निवेदन पनि राष्ट्र बैंकलाई बुझाउनुभएको छ।
तर बुधबार गभर्नर अधिकारीले प्रतिनिधि सभाको अर्थ समितिलाई आफूलाई यसबारेमा जानकारी नभएको भन्दै ढाँट्नुभयो।
अर्थ समितिको बैठकमा सांसद डा। स्वर्णिम वाग्लेले गभर्नर अधिकारीलाई हिमालयन रिले हिमालयन बैंकमा भएको हबिब बैंकको सेयर किन्न लागेको विषयमा प्रश्न सोध्नुभएको थियो ।
जवाफमा गभर्नर अधिकारीले भन्नुभएको थियो माननीयज्यूले जुन पार्टिकुलर बैंकको कुरा गर्नुभयो त्यसबारे हामीलाई जानकारी छैन।
सांसद वाग्लेले ‘हिमालयन रिले हिमालयन बैंकको हबिबको सेयर किन्ने कुरा आइरहेको छ। एउटै लगानीकर्ता एउटै घरानालाई लगानी गर्न दिने नदिनेबारे यहाँहरुको बुझाइ के हो भनेर खोर्उदै सोध्नुभयो । उहाँले इन्स्योरेन्समा हात हालिसकेका पार्टीहरुलाई नै फेरि बैंकको सेयर दिनु कत्तिको ठिक हो भन्ने शैलीमा प्रश्न गर्नुभएको थियो ।
गभर्नर अधिकारीले त्यसमा सुर मिलाउदै जवाफ दिनुभएको थियो ‘विगतमा हामीले बैंकर र व्यवसायी छुट्याउन खोजेका थियौं, जुन संभव भएन। अहिले भने व्यवसायीलाई नदिने भनेर बसेका छौं। हेरौं, कतिसम्म थेग्न सकिन्छ।’
सांसद वाग्लेले सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने प्रकृया सुरु गरिसकेको हिमालयन रिलाई रोक्नु पर्ने आशय व्यक्त गर्नुभयो भने गभर्नर अधिकारीले सकेसम्म रोक्ने बताउनुभयो।
पब्लिक लिमिटेड कम्पनीको रुपमा रहेको हिमालयन रि लाई लगानी गर्न पनि रोक्ने र शेयर जारी गर्न पनि रोक्ने गैर जिम्मेवार अभिव्यक्तिले देशको केन्द्रीय बैंकको गभर्नर र भविष्यका भरोसा लाग्दा भनिएका राजनीतिज्ञ र अर्थविद् सांसद स्वर्णिम वाग्लेको कद झन घटाएको छ ।
हिमालयन रि इन्फिनिटी होल्डिङका दीपक भट्ट, शंकर समूह लगायतको इनिसियसनमा खुलेको हो। यो कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई सेयर खुलाइसकेको छ। केही दिनभित्र सर्वसाधारणलाई सेयर जारी गर्दैछ। यसरी सार्वजनिक निष्काशनमा गैसकेको कम्पनीलाई बीचमा रोक्ने अभिव्यक्ति आउनु उपयुक्त होइन ।
केही समयअघि प्रभु बैंकको ७० लाख कित्ता संस्थापक सेयर एसियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो। सानिमा बैंकमा रहेको निरजगोविन्द श्रेष्ठको सेयर पनि सन नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो। पछिल्लो समय बैंकका संस्थापक सेयरधनी धमाधम बाहिरिन थालेका छन्। त्यसमा राष्ट्र बैक र अर्थ समितिले छानबिन,सोधखोज र ब्यवधान सिर्जना गरेका छैनन् । हिमालयन रि मा मात्र किन आँखा लगाए ? यो पूर्वाग्रह रहस्यमय छ ।
नेपालका प्रायः सबै बाणिज्य बैंकहरुको जलविद्युत आयोजनामा लगानी रहेको छ । नेपालको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारतले किनिदिने आशा सबैमा छ । भारतीय बजारको प्रत्याभूति होला भनेर नै नेपाली उत्पादक, विदेशी लगानीकर्ता र बैंकहरुले लगानी गरेका हुन् । तर भारतले कुन बैंकले लगानी गरेको भनेर पनि सुक्ष्म रुपले हेर्न थालेको छ । यस्तोमा हिमालयन बैंकमा भएको पाकिस्तानको हबिब बंैंकको शेयर जतिसक्दो छिटो नेपाली प्रतिष्ठित व्यवसायीहरुबाट स्थापित हिमालयन रिलाई दिनु अत्यन्त उपयुक्त देखिन्छ ।
व्यवसायी र उद्योगी तथा बैंकर छुट्टयाउछु भन्ने हो भने ओरालो लागेको नेपालको बैंकिड. क्षेत्र झन धराशायी हुन्छ ।


















