पोखरा(कास्की), २२ मंसिर। अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजना आजदेखि पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु हुँदैछ । महोत्सव पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपहिरेमा पाँच दिनसम्म चल्नेछ ।
महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका वृत्तचित्रदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ ।
महोत्सवको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नुहुने कार्यक्रम छ ।
संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्ड्स’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्त्व र उपयोगिताबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उहाँले भन्नुभएको छ ।
महोत्सव अवधिमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)सँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् ।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभावका बारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दीक्षितको सम्वाद हुने छ । उक्त बहस सोमबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका नेपालसम्बन्धी तस्बिर पनि प्रदर्शनमा राखिने छ ।
महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य–सचिव निर्मला न्यौपानेले जानकारी दिनुभएको छ । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलोपल्ट समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उहाँले भन्नुभयो ।


















