Prakash Adhikari December 8, 2023

दुबाई(संयुक्त अरब इमिरेट्स), २२ मंसिर । आजदेखि सयुक्त अरब इमिरेटस(युएई)को दुबाईमा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन् । समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

प्रतियोगिता मंसिर २२ देखी पुष १ गते (डिसेम्बर ८देखि १७) सम्म चल्नेछ । सबै खेल आइसीसी एकेडेमी ओभल(१ र २ दुबाईमा हुनेछन् । जापान र युएई बाहेक अन्य सबै टिमको लागि यो प्रतियोगिता २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप अघिका अन्तिम तयारी हो ।

यु १९ विश्वकपमा नेपालको समूह डी मा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । विश्वकप अघि हुने एसिया कपमा नेपालले आफ्नो तयारीको स्तर मापन र कमजोरी पत्ता लगाउने छ । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू १९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

गत फागुनमा आइसीसी यू १९ विश्वकप एसिया र एक महिना अघि एसीसी प्रिमियर कपको उपाधि जितेको थियो । तर सबै एसोसिएट टोली थिए । यू १९ विश्वकपमा भने नेपालले भारत, पाकिस्तान र अफगानिस्तान जस्ता बलिया राष्ट्रको सामना गर्नुपर्नेछ ।

हुन त नेपालले विगतमा भारत देदि न्युजिल्यान्डसम्मका टेस्ट टोलीलाई हराई सकेको छ । यस पटक सेमिफाइनल खेल्न दुई खेल जित्नुपर्ने हुन्छ । एसियाका सर्वाधिक बलिया टोलीलाई नेपालले हराउनु पर्छ ।

भारतले यू १९ मा मात्रै होईन सिनियर टोलीबाट पनि सानदार प्रदर्शन गर्दै आएको छ । भारत उपाधिको प्रमुख दाबेदार पनि हो ।

पाकिस्तान पूर्व सफल ब्याटर मोहम्मद युसिफको मुख्य प्रशिक्षणमा आएको छ । अफगानिस्तानले उमेर समूहमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । बलिया टेस्ट टोलीविरुद्ध यस पटक नेपाली युवा टोलीको असली परीक्षा पनि हुनेछ ।

नेपाली टोलीमा सिनियर राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झा पनि समावेश हुनुहुन्छ । झाको आगमनले नेपाली टिमको आत्मविश्वास झन बढेको छ । नेपाल एशिया कप जित्ने विश्वासको साथ मैदानमा उत्रिने छ । युवा टोली इतिहास रच्ने सोचका साथ युएई पुगेकोछ । नेपाल हालसम्म एसिया कपमा फाइनलमा पुग्न सकेको छैन । यस पटक सेमिफाइनलमा पुग्न सके त्यो सम्भावना धेरै हुनेछ ।

नेपालले २०१७ को यू१९ एसिया कपमा भारतलाई हराएको थियो । अन्तिम पटक सेमिफाइनल खेलेको प्रतियोगिता पनि त्यहिँ हो । भारतलाई हराउन तत्कालिन कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुको साथै ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका थिए ।

गुलशनले सिनियर टोलीबाट २४ ओडिआई र ११ टि २० आई खेल खेलेका छन् । एसिया कपमा पाकिस्तान र भारतविरुद्ध विश्वस्टारविरुद्ध खेलेका थिए ।

त्यस्तै नेपाली टोलीबाट महत्वपूर्ण खेलमा गुलशनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गुलशन पाँचौं नम्बरमा ब्याटिङ गर्नुको साथै प्रमुख तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । एकेडेमी ओभल २ तीव्र गतिका बलर सहयोगी मानिन्छ ।

कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडिआई खेल खेलेका छन् । यू१९ एसिया कप र विश्वकपको प्रदर्शनले उनको सिनियर टोलीमा पूनरागमन गर्न निर्णायक बन्ने देखिन्छ ।

देवले गत फागुन यता यू१९ क्रिकेटमा तीन शतक हानेका छन् । यू१९ मा तीन शतक हान्ने एक्लो नेपाली खेलाडी हुन् । देवले कप्तानी जिम्मेवारी लिनुपर्ने हुन्छ ।

अर्जुन कुमाल नेपालको भरपर्दा युवा ब्याटर हुन् । अर्जुनले दुई अन्तर्राष्ट्रिय शतक हानेका छन् । साउदी अरेवियाविरुद्ध अर्जुनले १ सय ४३ रनको शतकीय इनिङ खेलेका थिए । कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको उच्च प्रदर्शन हो ।

उनले कुशल मल्लले मंगोलियाविरुद्ध १९ औं एसियाली खेलकुदमा टि२० आईमा बनाएको १ सय ३७ रनको कीर्तिमान तोडेका हुन् ।

नेपालको ब्याटिङ अर्जुन, देव र गुलशनमा निर्भर हुनेछ । यी तीन खेलाडीको प्रदर्शनले नतिजा पनि निर्भर हुने देखिन्छ ।

त्यस्तै ब्याटिङमा राहुल त्रिपाठी, विकेटकिपर उत्तमथापा मगर र विशाल विक्रम केसीले पनि जिम्मेवारी लिनेछन् ।

दीपेशले यू १९ प्रिमियर कपमा ४ खेलमा १५ विकेट लिएका थिए । यू १९ विश्वकपमा पुर्याउन युएईविरुद्ध लगातार तीन विकेट लिँदै अविश्वसनीय रुपमा पुर्याएका थिए ।

स्पिनर दीपेश कँडेलको स्पिन आक्रामण खेल्न टेस्ट ब्याटरलाई पनि सहज हुनेछैन । उनलाई अर्का स्पिनर सुभाष भण्डारीले साथ दिनेछन् । तीव्र गतिका सहयोगी पिच हुँदा गुलशन, आकाश चन्द र हेमन्त धामी नेपालको तीव्र गतिका बलिङ हतियार हुनेछन् ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताउनुभएको छ ।‘सबै खेलाडीहरु लयमा छ । गुलशन आउँदा टिम राम्रो सन्तुलनमा छ । के गर्नुपर्ने सबैको मानसिक सोच स्पष्ट छ । एसिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न बढी उत्साहित छन् । भारत र पाकिस्तानसँग खेल्ने रहर हुन्छ । यी देशविरुद्ध खेल्दा अलगै मज्जा हुन्छ ‘ टमाटाले भन्नुभएको छ ।

नेपालका कप्तान देव खनालले राम्रो खेलेर फर्किने बताउनुभएको छ ।‘म पहिलो पटक भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्दैछु । त्यसैले ती चुनौतीको लागि उत्साहित छु ।हामी राम्रो क्रिकेट खेलेर फर्किन्छौं’, देव खनालले भन्नुभएको छ।

नेपाली टोली ः देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

नेपालको खेल तालिका –

मंसिर २२ (डिसेम्बर ८) – नेपाल र पाकिस्तान

मंसिर २४ (डिसेम्बर १०) – नेपाल र अफगानिस्तान

मंसिर २६ (डिसेम्बर १२) – नेपाल र भारत

मैदानः नेपालका सबै खेल आइसिसी एकेडेमी ओभल २ मा खेल हुनेछन् ।

मंसिर २९ (डिसेम्बर १५) – सेमिफाइनलका दुबै खेल हुनेछन् । समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ ।(स्रोतःहाम्रोखेलकूद)

पुष १ ९डिसेम्बर १७० – फाइनल खेल हुनेछन् ।

Share Now