काठमाडौँ, ४ पौष । राष्ट्रिय ध्वजावाहक विमान सञ्चालन गर्ने नेपाल वायुसेवा निगमको आम्दानी विगत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ ।
महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७ । ७८ मा रु ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८ सय ४५ रहेको थियो । आव २०७८ । ७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३ सय ३३ रहेको निगमको आम्दानी आव २०७९।८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
निगमले गत तीन वर्षको आम्दानीमा १ सय ४४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।
विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।



















