काठमाडौं, १३ पौष । एकजना किशोरीले आफूसंग नेपाली क्रिकेटको राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले सहमति बेगर शारीरिक संसंर्ग गरेको र आफ्नो उमेर १८ बर्ष नपुगेको भनेर दिएको उजुरीमा लामिछाने जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।
गौशाला २६ सांकेतिक नाम दिइएकी किशोरीलाई काठमाडौँ सिनामंगलस्थित एक होटलमा लगेर सहमति बेगर शारीरिक सम्बन्ध राखेको अभियोग लामिछानेलाई लागेको थियो।
यही आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै काठमाडौं जिल्ला अदातलका न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाउनुभएको हो।
यो फैसलासँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप सजाँयको भागीदार बन्नुपर्ने भएको छ।
अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपको सजाय तय हुनेछ।
यो प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो। पीडित पक्षले नाबालिगमाथि यौनशोषण भएको दाबी गर्दै आएको थियो।
उता सन्दीपको पक्षबाट किशोरीको उमेर पुगेको र राजिखुसीले आपसी सहमतिमा यौन सम्पर्क भएको भन्दै नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरिएको थियो।
तर अदालतले पीडित भनिएकी किशोरी गौशाला २६ लाई उमेर पुगेकी अर्थात बालिग भनेर ठहर गरेको छ । यसले सन्दीपलाई जिल्ला अदालतबाट हुने कैद सजाँय र त्यसपछि पुनरावेदन गर्न जाँदा ठूलो राहत मिल्ने देखिएको छ।
अदालतले पीडित भनिएकी गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको पनि फैसलामा उल्लेख गरेको छ। यससँगै उनी घटना भएको समयमा १८ वर्ष पूरा भएको पनि अदालतले देखाएको छ।
पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको अदालतको ठहर छ। तर घटना भएको समयमा सार्वजनिक भएका परिस्थितिजन्य सूचनाहरुले युवतीको सहमतिमा नै सो घटना भएको र सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान, राष्ट्रिय टोलीको सदस्य वा क्रिकेट मैदानबाट बाहिर पार्न कुनै शक्ति वा व्यक्तिहरुले प्रायोजित रुपमा ती किशोरीलाई उपयोग गरेको आशंका अझै निवारण भएको छैन् ।
त्यस बेला आएका सूचनाहरुमा आईसीसी लिग २ को बन्द शिबिरमा रहेका सन्दीपलाई किशोरी स्वयंले बोलाएकी थिइन । साथीमार्फत हाईहेलो र स्न्याप च्याटमा आएकी उनले नै नगरकोट जाने प्रस्ताव गरेकी थिइन । उनको सहमति नभएको भए काठमाडौं देखि नगरकोट गाडीमा जाँदा जहाँका ट्राफिक प्रहरीसंग उनले सहयोग लिन सक्थिन , त्यसो पनि गरिनन् । न उताबाट आउदा नै उनले प्रहरीको सहयोग खोजिन । काठमाडौं फर्केर तिमीलाई तिम्रो बासस्थानमा छोडेर म बन्द शिविर ह्यातमा फर्किन्छु भन्दा पनि उनले राति संगै होटलमा बस्ने ढिपी गरिन र सिनामंगलको होटलमा हाँसी खुसी गइन । एकै कोठामा बस्न राजी भइन । राति यौन संसंग भएको समयमा उनले होटलको रुम सर्भिस वा रिसेप्सन वा नेपाल प्रहरी कतै सम्पर्क गरिनन् । बिहान पनि हाँसीखुसी बिदा भइन ।
सन्दीप नेपाल छोडेर क्यारेबियन प्रिमियर लिग खेल्न क्यारेबियन मुलुकमा पुगेपछि मात्र उनले गौशाला प्रहरीमा जाहेरी दिइन् ।
उनको जाहेरीपछि भएका घट्नाहरु पनि अनौठा छन् । सन्दीप स्वदेश नफर्कदै प्रहरीले एकतर्फी अनुसन्धान थाल्यो र अदालतबाट पक्राउ आदेश लियो । उनलाई आफ्नो कुरा राख्ने अवसरै दिइएन । सन्दीपले प्रतियोगिता छोडेर नेपाल आउछु भन्दा पनि प्रहरीले रेड कर्नर नोटिस जारी गर्यो । उनी काठमाडौं एअरपोर्टमा उत्रिने वित्तिकै हत्कडी लगाएर गिरफ्तार गर्यो ।
पीडित भनिएकी किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।
यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।
१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु पर्दैन । उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्।
सन्दीपविरुद्ध गौशाला २६ ले २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको आरोपसहित जाहेरी दिएकी थिइन्।
त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।
१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग सन्दीपमाथि थियो।
उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ।
त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो।
आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन्।
प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा करणी भएको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो।
त्यसपछि असोज १८ गते जिल्ला अदालत काठमाडौंले प्रेससंग बोल्न नपाउने, पीडित भनिएकी युवतिसंग सम्पर्क गर्न नपाउने, पीडित भनिएकी युवतीका आफन्तसंग सम्पर्क गर्न नपाउने लगायतका शर्तसहित थुनामा पठाएको थियो ।
नेपाल आईसीसी लिग २ र एशिया कपका निर्णायक खेलहरु खेल्न बाँकी रहेका बखत अन्तर्राष्ट्रिय स्तरका एक खेलाडी जेलमा रहदा राष्ट्रिय टिमको प्रदर्शनमा असर पर्नसक्ने भन्दै खेलप्रेमीहरुको सदासयमा रिहाइका लागि सन्दीपका तर्फबाट जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा दिइएको मुद्दामा २०७९ पुस २८ गते सन्दीपलाई धरौटीमा छाड्न आदेश भएको थियो।
उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि विदेश जान प्रतिवन्ध लगाएको थियो।
उच्चको आदेशअनुसार लामिछाने २०७९ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका थिए।
उच्चको उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सन्दीपले धरौटी घटाउन र विदेश जान लागेको प्रतिबन्ध हटाउन माग गरेका थिए।
पीडित पक्षले भने सन्दीपलाई थुनामै फर्काउन माग गरेको थियो। तर सर्वोच्चले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध सर्तसहित हटाइदिएको थियो।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले प्रतिबन्ध हटाएसँगै सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए।
त्यसपछि २०७९ फागुन १५ गते सर्वोच्च अदालतले यो मुद्दा तत्काल टुंग्याउनसमेत जिल्ला अदालतलाई आदेश दिएको थियो।
पीडित भनिएकी किशोरी नाबालिग नभएको ठहर अदालतले गरेकोले सन्दीपले माथिल्ला तहबाट सफाई पाउने संभावना पनि बढेको छ । अन्नपूर्णा राणाको अंशसंबन्धि मुद्दामा सर्वोच्च अदालतले उमेर पुगेका पुरुष र महिलाबीचमा आपसी सहमतिमा हुने शारीरिक संसर्ग दण्डनीय अपराध नहुने फैसला गरेको छ ।
परिस्थितिजन्य विवरणबाट ती किशोरीले आपसी सहमतिमा नै शारीरिक सम्पर्क गर्न दिएको र पछि कसैको करकाप वा दबाबका भरमा प्रहरीमा उजुरी दिएको आधारमा उपल्ला तहका अदालतबाट सन्दीपले राहत पाउने संभावना बढेको छ ।


















