Prakash Adhikari December 29, 2023

 

काठमाडौं, १३ पौष । दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार डोटी घर भएका २२ वर्षीय एक युवकको पाटन अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या दुई पुगेको हो।

यसअघि जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज कार्कीले दैलेख घर भएका २३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका थिए।

अर्का एक प्रदर्शककारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बल प्रयोग गर्नुअघि आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए।

कोरिया रोजगारीप्रति नेपाली युवा आकर्षणका प्रमुख तीन कारण
कोरियाको उत्पादनमूलक क्षेत्रमा ुसाधारण लेखपढ गर्ने नेपाली पनि जान पाउनेु
प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर बनाएको र २३ जनालाई पक्राउ गरिएको जनाएको छ।

केही सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको थियो। तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

नेपाल प्रहरी के भन्छ
तर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले गोली नचलेको र अश्रुग्यास मात्रै प्रहार गरिएको बताउनुभएको छ ।

डुङ्गामुढा गर्ने व्यक्तिहरूविरुद्ध अश्रुग्यास प्रहार गरिएको उहाँको दाबी छ। “..हामीले भर्खरै भिडलाई तितरबितर बनाएका छौँ,” उहाँले भन्नुभयो।

आफू अझै पनि फील्डमै तैनाथ रहेको भन्दै उहाँले गोली चले नचलेकोबारे थप सूचना लिनुपर्ने बताउनुभयो।

यसअघि मन्त्री ज्वालाको गाडी आगजनीका कारण पूर्ण रूपमा क्षति भएको बताइएको थियो।

कसरी भयो हिंसा
केही समयअघि दक्षिण कोरियामा ‘शीप बिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कामको अवसरका लागि भाषा परीक्षा लिइएको थियो।

उक्त परीक्षाको निर्णय आएपछि अनुत्तीर्ण आवेदकहरू श्रम तथा रोजगार विभागको ईपीएस शाखाले गरेको निर्णयसँग असन्तुष्ट देखिएका थियो। ईपीएस शाखाले अनुत्तीर्ण आवेदकहरू दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि लिइने अर्को भाषा परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको थियो।

तीमध्ये १८ जनाले उक्त निर्णयलाई अदालतमा चुनौती दिएका थिए। पाटन उच्च अदालतको आदेशपछि ईपीएस शाखाले अदालतमा मुद्दा दायर गर्ने आवेदकलाई मात्र परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।

सबैले भाषा परीक्षामा सहभागी हुनु पाउनुपर्ने मागसहित शुक्रवार केही युवाहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको छ।

ललितपुरमा दक्षिण कोरिया जाने आकाङ्क्षीहरूलाई भाषा परीक्षा सञ्चालन गर्ने ईपीएसको कार्यालय छ।

प्रदर्शनका कारण दिनभरि ललितपुरको ग्वार्को, बालकुमारी र आसपासको क्षेत्र तनावग्रस्त रहे।

त्यस क्रममा उनीहरूले मन्त्री ज्वालाको सवारीसाधनमाथि आगो लगाएर हुलदङ्गा सुरु गरेपछि बल प्रयोग गरेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो।

अस्पताल के भन्छ ?

दैलेख घर भएका घाइते प्रदर्शनकारीलाई नजिकैको किस्ट अस्पताल लगिएको थियो।

“हामीकहाँ उहाँलाई ल्याइपुर्‍याउँदा नै अचेत अवस्थामा ल्याइएको थियो। उहाँको छातीमा नीलो डाम थियो। ल्याउँदा नै लगभग मृत अवस्थामा यहाँ ल्याइएको थियो,” उक्त अस्पतालका चीफ अपरेटिङ अफिसर अमिश पाठकले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

उहाँले चिकित्सकहरूले करिब ४५ मिनेट सीपीआर दिएको भए पनि उहाँलाई बिउँताउन नसकिएको बताएका छन् । अस्पतालले अपराह्ण १ः१७ बजे उहाँलाई मृत घोषणा गरेको थियो।

्रअदालतको अन्तरिम आदेश

यसैबीच उच्च अदालत पाटनले विगतमा दक्षिण कोरियाली जहाज कम्पनीको कामदार लागि आवेदन फारम भरेकाहरूलाई उत्पादनमूलक कामदार छनोट गर्ने प्रयोजनका लागि सञ्चालन हुने भाषा परीक्षामा सहभागी हुन वञ्चित नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

उत्पादन मूलक क्षेत्रका कामदारका लागि आवेदकको योग्यतामा सन् २०२३ भित्र ईपीएस भाषा परीक्षा नदिएको हुनुपर्ने सर्त राखिएको थियो।

्रत्यसले आफूहरूको रोजगार तथा श्रमको हक एवं संविधानले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुगेको भन्दै पीडितहरूका तर्फबाट तर्कबहादुर पल समेतले उच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

उक्त परीक्षालाई लिएर भइरहेका विवादको समाधानका लागि सम्बन्धित निकायहरूसँग छलफल भइरहेको ईपीएस कोरिया शाखाले यसअघि बताएको थियो।

शुक्रवार न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले ूनिवेदकहरूको माग गरेका विषयमा अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा उनीहरूलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट निवेदकहरूलगायत निवेदकसरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई परीक्षा आवेदन फारम भर्न दिनू दिलाउनूू भनी अन्तरिम आदेश दिएको हो।

यसैबीच बालकुमारीमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसको थप अनुगमनका लागि टोली घटनास्थलतर्फ गएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

ईपीएस के हो?

दक्षिण कोरिया नेपाली कामदारहरूका लागि एउटा आकर्षक श्रम गन्तव्य हो। वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार ४० हजार भन्दाबढी नेपाली दक्षिण कोरियामा काम गरिरहेका छन्।

नेपाल र दक्षिण कोरियाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि सन् २००७ मा उक्त कार्यालय स्थापना गरिएको थियो।

ईपीएस नेपालको वेबसाइटका अनुसार १८ देखि ३९ वर्षका व्यक्तिहरू जसले कोरियाको भाषा परीक्षा पास गरेका छन्। उनीहरूले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन्।

तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ।

नेपाली कामदारहरूलाई दक्षिण कोरिया पठाउने विषयमा उक्त निकायले निर्णय लिने गर्छ।

Share Now