Prakash Adhikari December 31, 2023

 

काठमाडौं, १५ पौष । पूर्वसचिव एवम् प्रशासनविद् डा.द्धारिकानाथ ढुंगेलले नेपालमा शासक,प्रशासक र व्यापारीको मिलेमतोमा प्रशासनलाई कमजोर तुल्याउदा भद्रगोल सिर्जना भएको बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको नियमित शुक्रवारे प्रवचनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“प्रशासन राज्यको कानून अनुसार सञ्चालन हुन्छन् । त्यसको आफ्ना मूल्य,मान्यता, विधि र परम्परा पनि छन् । तर हामीकहाँ राज्यको सुसञ्चालनको अनुभव र जनकल्याणको तरिका नजानेका नेताहरुले कार्यकर्ता र व्यापारीको लहैलहैमा लागेर प्रशासनमा अधिक हस्तक्षेप गरेकोले प्रशासन कमजोर भएको छ । प्रशासन कमजोर भएपछि बेथिति हुन्छ । अहिलेको अवस्था त्यही हो।”, डा. ढुंगेलले भन्नुभयो ।

उहाँले बेलायतमा निजामती प्रशासनको प्रमुख अर्थात मुख्य सचिवले सचिवहरुलाई मन्त्रीले भनेको के गर्ने र के नगर्ने भनेर सर्कुलर जारी गरेर प्रशासनलाई राजनीतिक हस्तक्षेत्रबाट मुक्त गराएको उल्लेख गर्दै भन्नुभयो, ” नेपालमा पनि वीपी कोइराला गृहमन्त्री भएको बेलामा २००८ सालमा न्यूनवैतनिक कर्मचारीेले सभा,सम्मेलन र संगठनमा भाग लिन नपाउने आदेश जारी भई दुईपटक नेपाल गजेटमा पनि निस्कियो । तर २०४८ सालमा उहाँकै भाइ प्रधानमन्त्री भएको पालामा कर्मचारी संगठनहर खुले । अहिले कसलाई सचिव बनाउने र कसलाई कहाँ सरुवा गर्ने भन्ने काम मुख्यसचिवले गर्न पाउँदैन, तिनले गर्दछन् ।”, डा. ढुंंगेलले भन्नुभयो ।

उहाँले अहिले सूचना र संचारको क्षेत्रमा आएका अत्याधुनिक प्रविधिका कारण प्रशासन सेवालाई चुस्त, दुरुस्त,  भरपर्दो, मितव्ययी, शीघ्र काम गर्न सक्ने,नतिजामुखी बनाउन संभव भएको बेलामा पनि नेपालको प्रशासनमा ढिलासुस्ती र भ्रष्टाचार भएको कुरा सुन्ने अवस्था आउनु दुःखको कुरा रहेको  बताउनुभयो ।

उहाँले कर्मचारीमा सेवाग्राहीलाई नियम,कानूनको दायराभित्र रहेर कसरी छिटो सेवा दिनसक्छु भन्ने भावना उत्पन्न गराउने वातावरण शासक र प्रशासक मिलेर सिर्जना गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

प्रशासनविद् डा.ढुंगेलले पहिले कर्मचारीमा माथिको डर हुने भएकोले कार्य सम्पादनमा गम्भीरता देखिने तर अहिले त्यस्तो त्रास नभएकोले अतिरिक्त कमाइमा पनि लाग्ने गरेको बताउनुभयो ।

अहिले नेपाली नागरिकहरु अध्ययन,रोजगारी र भ्रमणको सिलसिलामा बाहिर जाने प्रवृत्ति बढ्दै गएकोले यी विषयमा सेवा दिने राज्यका निकायमा कार्यरत कर्मचारीहरुले विश्वस्तरको सेवा दिन अग्रसर हुनपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो ।

डा. ढुंगेलले सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष संगठन र व्यवस्थापन(ओएनएम)सर्भेक्षण गरी सो अनुरुप दरबन्दी सिर्जना गरेर कर्मचारीहरुलाई कार्यादेश प्रदान गर्ने र कार्यसम्पादनको नियमित मूल्यांकन गर्ने तथा त्यसका आधारमा दण्डित र पुरस्कृत र पदोन्नति गर्ने परम्परालाई कायम गर्ने हो भने निजामति सेवामा गुणस्तरीय परिवर्तन आउने पनि बताउनुभयो ।

पूर्वप्रशासक डा. ढुंगेलले प्रशासन कमजोर भएमा देश लथालिंग हुने भएकोले नेताहरुलाई प्रशासनलाई नगिजोल्न सबैले आआफ्नो ठाउँबाट आग्रह गर्नुपर्ने र प्रशासकहरुलाई बलियो बनाउन सघाउनु पर्ने बेला आएको पनि बताउनुभयो ।

नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन संघको शुक्रवारे प्रवचन कार्यक्रमका संयोजक इन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

 

Share Now