अशोक दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, २४ पौष । आउदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै प्रतिनिधि सभामा तेस्रो दल रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा भने सबैभन्दा ठूलो दल हुने देखिएको जानकारहरूले बताएका छन्।
राष्ट्रिय सभामा तेस्रोबाट दोस्रो ठूलो दल बन्न प्रयासरत नेपाली कांग्रेसमा भने उम्मेदवार चयनको विषयमा विवाद देखिएको छ।
कांग्रेस महामन्त्री गगन थापाले गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौलालाई माओवादी र एकीकृत समाजवादीको आग्रहमा अघि सारिएको बताउनुभएको छ।
चार वर्ष अघिसम्म राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले यो पटकको राष्ट्रिय सभा निर्वाचनबाट तेस्रो दल हुने देखिएको छ।
एमाले अहिले प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको छ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीतसहित माओवादीका १५ जना सदस्य रहेका छन्।
आगामी फागुनबाट माओवादीका तीनजना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ।
अहिले राष्ट्रिय सभामा मनोनीत सहित १७ जना सांसद रहेको नेकपा एमालेका भने राष्ट्रपतिबाट मनोनीत एक जनासहित सबैभन्दा धेरै नौ जना सदस्य खाली हुँदैछन्।
एमाले तेस्रो दल बन्ने
राष्ट्रिय सभा अध्यक्ष सहित आफ्ना नौ जना सांसदहरूको पदावधि सकिए पनि एमालेले माघ ११ गते हुने निर्वाचनमा एउटै सिट जित्ने सम्भावना नदेखिएको जानकारहरू बताउँछन्।
त्यसो हुँदा राष्ट्रिय सभामा एमालेका आठ जना सांसदहरू मात्रै बाँकी रहनेछन्।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एमाले निकट विमला राई पौडेलको पदावधि पनि आगामी फागुनबाट सकिँदैछ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेले रिक्त भएका १९ वटै सिटमा उम्मेदवारी दिए पनि आफ्ना उम्मेदवार निर्वाचित हुने अपेक्षा भने “खासै नगरेको” एमालेकै एक जना सांसदले बताउनुभएको छ।
“गठबन्धनको मतभार धेरै भएका कारण हामीले खासै अपेक्षा गरेका छैनौँ। आफ्नो मत संरक्षण गर्न सबै ठाउँमा उम्मेदवारी चाहिँ दिएका हौँ,” आगामी फागुनमा कार्यकाल सकिन लागेकी एमाले राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले भन्नुभयो।
“प्रतिस्पर्धा गर्दा कोशी लगायतका केही प्रदेशमा आउन पनि सक्छ।”
विसं २०७७ सालमा नेकपाबाट एमाले र माओवादी अलग हुँदा राष्ट्रिय सभामा एमालेका ३४ सदस्य थिए।
यसअघि २०७८ सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेले अहिलेकै जस्तो गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो।
अहिले जस्तै १९ सिटका लागि भएको त्यसबेलाको निर्वाचनमा भने एमालेका एक जना उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित हुनुभएको थियो।
तत्कालीन प्रदेश १ मा गठबन्धनमा भएको असन्तुष्टिका कारण कतिपय गठबन्धनकै प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीले जनता समाजवादी पार्टीका उम्मेदवारको सट्टा एमालेका उम्मेदवारलाई मत दिएको विवरण आएका थिए। तर यो पटक एमालेले यस्तो अपेक्षा “खासै नगरेको” नेताहरूले बताउनुभएको छ ।
माओवादी सबैभन्दा ठूलो दल
एमालेसँग विभाजित हुँदा राष्ट्रिय सभामा १५ सांसद रहेको माओवादीले अघिल्लो पटक भएको राष्ट्रिय सभा निर्वाचनबाट एक सांसद थप्यो।
उसले राष्ट्रपतिबाट मनोनीत हुने कोटामा पनि आफ्ना नेता नारायण दाहाललाई राष्ट्रिय सभामा पुर्यायो ।
अहिले माओवादीबाट राष्ट्रिय सभामा दाहालसहित १५ जना सांसद छन्। त्यसमध्ये तीन जनाको पद फागुनमा सकिँदैछ।
तर माघमा हुने निर्वाचनमा माओवादीले गठबन्धनका तर्फबाट छ जना उम्मेदवार अघि सार्दैछ र ती सबै उम्मेदवार निर्वाचित हुने सम्भावना रहेको जानकारहरू बताउँछन्।
त्यसो हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन् र यो सङ्ख्या राष्ट्रिय सभामा कांग्रेसको भन्दा धेरै हुन्छ।
अहिले राष्ट्रिय सभामा कांग्रेसका १० जना सांसद छन्। त्यसमध्ये चार जनाको पदावधि फागुनमा सकिँदै छ। तर गठबन्धनबाट कांग्रेसले १० जना उम्मेदवार पाएको छ।
ती सबै उम्मेदवार निर्वाचित भए राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद पुग्छन्।
“अहिलेको गठबन्धनमा उलटफेर भएन भने माओवादी सबैभन्दा ठूलो, कांग्रेस दोस्रो र एमाले तेस्रो हुने देखिन्छ,” राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
“एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गठबन्धनको मत धेरै भएको स्थिति र रिक्त भएका क्लस्टरहरू एक वा दुई मात्रै भएका कारण ती सबै ठाउँहरूमा गठबन्धनमा उलटफेर नभएको अवस्थामा गठबन्धनकै उम्मेदवारहरू निर्वाचित हुने देखिन्छ।”
कांग्रेसको पुनरागमन
नेकपा एकीकरणका समयमा राष्ट्रिय सभामा जम्मा छ सिटमा खुम्चिएको नेपाली कांग्रेसले चार वर्षमा माथिल्लो सदनमा अध्यक्ष सहित १६ सिट बनाउने देखिएको छ।
“गठबन्धनको मतभारका कारण हामीले अहिले उम्मेदवारी दिएका १० वटै सिट जित्छौँ। त्यसो हुँदा हाम्रो १६ सिट पुग्छ,” राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी नेतृ अनिता देवकोटाले भन्नुभयो।
रिक्त हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई अघि सारेको छ।
राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको बराबर हैसियत हुने देखिएको छ।
एकीकृत समाजवादीका अहिले एक जना स्वतन्त्रसहित राष्ट्रिय सभामा नौ जना सांसद छन्।
त्यसमध्ये नेकपा विभाजनका क्रममा स्वतन्त्र हैसियत रोजे पनि एकीकृत समाजवादीमै रहेका खिमलाल देवकोटासहित तीन जनाको पदावधि सकिँदैछ।
माघमा हुने निर्वाचनमा एकीकृत समाजवादीका तर्फबाट दुई जना उम्मेदवार छन्।
ती दुवै जना निर्वाचित भए राष्ट्रिय सभामा एकीकृत समाजवादीका एमालेका बराबर आठ सांसद हुनेछन्।
सिटौलाबारे माओवादी र एकीकृत समाजवादीको भनाई
कांग्रेसभित्र राष्ट्रिय सभा उम्मेदवार चयनको विषयमा लिखित असहमति राखेका महामन्त्री गगन थापाले आफ्नो असहमतिमा अवसरबाट वञ्चित र योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड पालना नगरिएको र पार्टीमा आग्रहका आधारमा निर्णय गरिएको आरोप लगाउनुभएको छ।
“उम्मेदवारबारे हामीले हिजो बनाएको मापदण्डमा ध्यान दिइएन। मुख्य पार्टी नेतृत्व नै सिङ्गो पार्टीको अभिभावक नभएर एउटा सानो पङ्क्तिको संरक्षकजस्तो देखियो,” थापाले बीबीसीसँग भन्नुभयो।
उनले पार्टीमा मधेशी र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व समेत नभएको बताउनुभयो।
थापाजस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले फरक विचार समूहलाई अलग गरिएको र न्यायोचित अवसर नदिइएको आरोप लगाउनुभएको छ।
कांग्रेस महामन्त्री थापाका अनुसार कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले पनि आग्रह गरेका थिए।
“हाम्रो मतले मात्रै राष्ट्रिय सभामा जित्न नसक्ने र हामीले मत लिनुपर्ने मूलत माओवादी र एकीकृत समाजवादी दुवैको तर्फबाट औपचारिक रूपमै कांग्रेसलाई यदि तपाईँहरूको उम्मेदवार सिटौला हुनुहुन्छ भने व्यक्तित्वको कारणले (राष्ट्रिय सभा अध्यक्षमा) हाम्रो दाबी रहन्न र यसमा हामी छलफलै गर्दैनौँ भन्ने कुरा आयो,” थापाले भन्नुभयो।
“नभए खासगरी माओवादीले हाम्रो दाबी रहन्छ किनभने अलि समय पछि संवैधानिक परिषद्मा हाम्रो उपस्थिति शून्य हुन्छ भनिसकेपछि हामी राष्ट्रिय सभाको अध्यक्ष बन्ने व्यक्तिसँग एउटा उम्मेदवार जोडेर आउने अवस्था बन्यो। त्यसकारण त्यसलाई अपवादको रूपमा स्वीकार गर्ने र एकमत बनेको अवस्था रह्यो।”
शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका खेलेका सिटौलाप्रति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदाशयता देखाउने गरेको बताइन्छ।
सिटौला गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो।