Prakash Adhikari January 9, 2024

निरञ्जन राजवंशी
काठमाडौं, पौष २४(बीबीसी) । काठमाडौं जिल्ला अदालतले गत साता पौष १३ गते क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्ने निर्णय गर्दा उनी वीरगन्जमा आयोजित प्रो(क्लब टी -२० च्याम्पियनशिप क्रिकेट खेल्दै थिए।

अदालतको निर्णय आएको भोलिपल्ट सन्दीप लामिछानेको टोली पर्सा ११ र भारतको वन्डर्स क्लब नोयडाबीच फाइनल खेल थियो। उनी पर्सा ११ का कप्तान पनि थिए।

तर लामिछाने फाइनल खेल्न मैदानमा गएनन्।

काठमाडौं जिल्ला अदालतले उनलाई दिइने सजाय तोक्न पौष २५ गते पेसी तोकेको छ।

लामिछानले जेलबाहिर बसेर मुद्दाको पुनरावेदन गर्ने उनका वकिलले बताएका छन्।

क्यानले के गर्ला

अहिले उठिरहेको एउटा प्रश्न हो, जिल्ला अदालतबाट दोषी ठहरिएको व्यक्तिले जेलबाहिर बसेर पुनरावेदन दिएको बेला उनी राष्ट्रिय टोलीबाट खेल्न मिल्छ कि मिल्दैन ?

नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बीबीसीको प्रश्नमा भने, “हाम्रो आधिकारिक धारणा भनेको कानुनबमोजिम नै हुने छ। तर हाम्रो छलफलमा उहाँलाई सायद नैतिकताको आधारमा खेल्न दिन मिल्दैन भन्ने कुरा भएको छ।”

क्यानले सन्दीप लामिछानेबारे आफ्नो आधिकारिक धारणा काठमाडौं जिल्ला अदालतले सजाय निर्धारण गरेपछि सार्वजनिक गर्ने बताएको छ।

क्यानले यस विषयमा आन्तरिक छलफल गरिसकेको बताउँदै सचिव पारस खड्काले भने, “कानुन मान्ने हो भने उहाँले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न सायद अब गाह्रै होला।”

यसको अर्थ सन्दीप लामिछानेले माथिल्लो अदालतबाट सफाइ नपाउँदासम्म उनी राष्ट्रिय टोलीमा फर्किने सम्भावना करिब अन्त्य हुने छ।

निलम्बन र फुकुवा

सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने उनका वकिलहरूले जनाएका छन्।

यसअघि ‘गौशाला २६’ उपनामबाट चिनाइएकी पीडितले २०७९ भदौ २१ गते सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै काठमाडौं गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

क्यानले त्यसपछि तुरुन्तै प्रतिक्रिया जनाउँदै दुई दिनपछि नै उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

तर पाटन उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरेपछि २०७९ माघ १८ गते उनको निलम्बन फुकुवा भयो।

त्यस बेला क्यानको उक्त निर्णयको कैयौँले आलोचना गरेका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) को मान्यता जोगाउनेदेखि आईसीसी विश्वकप लीग-२ को उपविजेता हुँदा अनि एसीसी प्रिमिअर कपको फाइनलमा पुगेर एशिया कपमा छनोट हुनेदेखि यूएईलाई हराउँदै टी-२० विश्वकपमा छानिँदा सन्दीप लामिछानेको भूमिका महत्त्वपूर्ण थियो।

लामिछानेको कसुरबारे कानुनमा के लेखिएको छ ?

अदालतले फैसला सुनाउने क्रममा लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ। उक्त संहितामा यस्तो लेखिएको छ (

१) कसैले जबरजस्ती गर्न हुँदैन।

२) कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करण गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।

३) उपदफामा ुकरणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजायु तोक्ने व्यवस्था छ।

३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने उल्लेख गरिएको छ।

यसअघि के भएको थियो ?

पौष १३, २०८०ः काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर, सजायका लागि पौष २५ गते पेसी तोक्ने निर्णय

११ असार, २०८०ः गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश

७ जेठ, २०८०ः वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश

९ चैत, २०८०ः लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश

१६ फागुन, २०७९ः सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति

१८ माघ, २०७९ः अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा

२८ पौष, २०७९ः पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा

१४ कात्तिक, २०७९ः काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

२० असोज, २०७९ः विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ

२३ भदौ, २०७९ः नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन

२१ भदौ, २०७९ः पीडित भनिएकी एक किशोरीद्वारा काठमाडौंको गौशाला प्रहरी कार्यालयमा उजुरी

Share Now