काठमाडौं, २८ पौष । हिउँदयाम सुरु भएसँगै नेपालमा विद्युतउत्पादनमा ह्रास आउन थालेको छ । नेपालमा जलविद्युत र सौर्य विद्युत उत्पादन हुन्छ । हिउँदमा हिउँ जम्ने, पानीको मुहान सुक्ने र आकाशे बर्षा पनि कम हुने भएकोले खोला तथा नदीमा पानीको प्रवाह कम भई विद्युत आयोजनाहरुको उत्पादन क्षमता घट्न जान्छ । नेपालको कुलेखानी जलविद्युत आयोजना बाहेक अन्य सबै जलविद्युत आयोजनाहरु नदीप्रवाहमा आधारित छन् । जसका कारण खोला र नदीमा पानीको मात्रा कम हुनासाथ विद्युत उत्पादन कम हुन जान्छ ।
नेपालका केही बर्षदेखि सौर्य प्रणालीबाट पनि विद्युत उत्पादन थालिएको छ । समग्र विद्युत प्रणालीमा सानो अंश ओगट्ने सौर्य विद्युत पनि हिउँदमा कम उत्पादन हुने गर्दछ । तराई क्षेत्रमा हुस्सु लाग्ने र जाडोमा सूर्यको प्रकाश मलिन हुने भएकोले सौर्य विद्युत उत्पादन पनि पूर्ण क्षमतामा हुने गर्दैन ।
जाडो याममा नेपालमा विद्युतको माग बढ्ने तर स्वदेशी उत्पादन कम हुने भएकोले न्यूनतम् माग आपूर्ति गर्न पनि भारतबाट विद्युत आयात गर्नु पर्दछ । मंसिरपछि नेपालका खोला र नदीमा पानीको बहाव कम हुने भएकोले हिउँदेयाम सुरु भएसँगै नेपालले भारतबाट बिजुलीको आयात गर्दछ ।
नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गर्न थालेको छ । हाल नेपालको आन्तरिक उत्पादन घटेर ९ सय मेगावाटमा झरेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत मंसिर अन्त्यबाट भारतमा बिक्री बन्द गरेको प्राधिकरणले हाल भारतबाट बिजुली आयात गर्न थालेको हो । उहाँका अनसार अहिले नेपालको उत्पादन ९ सय मेगावाटमा झरेको छ । प्राधिकरण र यसका सहायक कम्पनीबाट २५० मेगावाट(कुलेखानीबाहेक) तथा निजी क्षेत्रको ६५० मेगावाट बिजुली कम परिमाणमा उत्पादन भएको छ ।
भट्टराईका अनुसार अहिले नेपालमा उच्च माग १ हजार ७ सय ४ मेगावाट जति छ । वास्तविक समयको माग गणना गर्दा अहिले नेपालमा ऊर्जाको माग ३१ हजार १ सय ५१ मेगावाट आवर छ । नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ६ हजार ५ सय ९ मेगावाट आवर उत्पादन हुन्छ । प्राधिकरणका सहायक कम्पनीहरुबाट ३ हजार ४ सय ५५ मेगावाट आवर विद्युत उत्पादन हुन्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुले १३ हजार ३१ मेगावाट आवर विद्युत उत्पादन गर्दछन् । ७ हजार ७ सय १७ मेगावाट आवर विद्युत आयातबाट आपूर्ति गरिएको छ । प्राधिकरणले ‘लाइफ लाइन’ मानेको कुलेखानी जलाशययुक्त पीक समय (साँझपख) मात्रै चलाउने गरेको छ ।
प्राधिकरणका अनुसार हाल विद्युत जडित क्षमता करिब २ हजार ९ मेगावाट पुगेको छ । तर सबै नदी प्रवाही आयोजना हुँदा हिउँद सुरु भएसँगै उत्पादन एक तिहाइभन्दा कममा झर्ने गर्दछ ।
जाडो बढेको तर नदीमा जलस्तर घटेका कारण बिजुली माग वृद्धि र उत्पादन कम भएकाले लाइन काटिएका उद्योगहरुलाई पुनः लाइन जडान गर्न प्रणालीको सन्तुलन मिलाउन पनि आवश्यक रहेको बताइएको छ ।


















