काठमाडौँ, २८ पौष। चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभएको छ।
काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । दिउँसो १ः ५५ बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा.महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतम हुन् ।
दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
भालेश्वर दर्शनको लागि पारिवारिक यात्रा
शनिबार बिदाको दिन भएकोले चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो, डा. महेशकुमार गौतमको परिवार।
श्रीमती डा. सृष्टि तिवारी गौतम, ६ वर्षीया छोरी, ४ वर्षीय छोरा र सासूससुरासहित शनिबार चन्द्रागिरी निस्कनुभएको थियो डा. गौतम।
काठमाडौँ, मैतीदेवी बस्ने उहाँका सासुससुरा छोरी–ज्वाइँ र नातिनातिनासँग घुमघाममा जान पाउँदा निकै खुसी हुनुहुन्थ्यो ।
तर दिउँसो झण्डै २ बज्न लाग्दा चन्द्रागिरि–४ स्थित हिमचुली सेतो पहरामा परिवार सवार कार दुर्घटनामा पर्यो।
प्रहरीका अनुसार, काठमाडौँबाट चित्लाङतर्फको सडकखण्डमा गाडी अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खस्न पुग्यो।
दुर्घटनामा डा. गौतमसहित उहँकी ६४ वर्षीया सासु कल्पना तिवारी, ६७ वर्षीय सुसरा ओमकारनिधि तिवारी, छोरी स्मारिका गौतम र छोरा प्रियान्स गौतमको जीवन गुम्यो।
सोही दुर्घटनामा पर्नुभएकी डा. गौतमकी श्रीमती सुष्टि गौतम भने सकुशल रहनुभएको छ।
महेशका श्रीमान्( श्रीमती नै ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक भएको बताइएको छ।
जन्म दिने बुवा–आमा, कर्म दिने श्रीमान् र भविष्य बोकेका कलिला छोराछोरी आफ्नै आँखा अगाडि गुमाएर अस्पतालको बेडमा पुग्नुभएको छ डा. सृष्टि तिवारी गौतम।


















