ललितपुरं, २९ पौष ।नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गर्नुभएको छ।
शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सो माग गर्नुभएको हो। अध्यक्ष ढकालले आफू जिल्लाका व्यवसायीहरुका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरुमा जाँदा पनि व्यवसायीहरुले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताउनुभयो।
उहाँले उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह पनि गर्नुभयो। उहाँले व्यवसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताउनुभयो।
यस्तो नीति बनाउन सरकारी खर्च नहुने उहाँको भनाइ छ।
‘यहाँ निजी क्षेत्रका साथीहरुको चाहे जिल्लामा जाऔँ, चाहे वस्तुगत कार्यक्रमहरुमा होस्। निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ। सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई प्रोत्साहित गरेर उनीहरुको व्यवसायिक क्रियाकलाप बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, ‘सीआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ। यो सीआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ। चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सीआईपीको कुरा होस्। चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ।’
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरु निकायहरुको बीचमा छलफल भइरहेको भन्दै कसरी टुंगोमा पुग्ने भन्नेकुराको छलफल जारी रहेको बताउनुभयो।
उपप्रधानमन्त्री श्रेष्ठले चाँडै नै उद्योगीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सम्बन्धित निकायहरुसहितको बैठक बोलाउने पनि बताउनुभयो।
‘हाम्रो उद्योग वाणिज्य महासंघको अध्यक्षजीले मर्यादा क्रमको कुरा भन्नुभएको छ। त्यो बारेमा समग्र मर्यादाक्रमकै बारेमा अहिले मन्त्रालय र सरकारको अरु निकायहरुको बीचमा छलफल भइरहेको छ,’ उहााले भन्नुभयो, ‘त्यो बारेमा हामी एउटा टुंगोमा कुन ढंगले हुन्छ, कस्तो प्रकारले हुन्छ टुंगोमा पुग्नेछौँ। अहिले छलफलको क्रममा छ। भन्नुभएको छ। मिसनहरूमा एउटा कमसेकम प्रदर्शनी कक्ष हस्तकलाको सामग्रीहरुको भइदिए हुन्थ्यो भन्नुभएको छ। त्यो पनि विचारणीय कुरा छ। सम्माननीय प्रधानमन्त्रीको समय उपलब्ध हुनसके प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित अरु सम्बन्धित निकायहरुसहितको बैठक आयोजना गरिनेछ। नभए आफ्नै पहल कदमीमा भएपछि सम्बन्धित सबै मन्त्रालय र निकायको बैठक आयोजना कम्तीमा १५ दिन भित्र आयोजना गरेर गर्न सकिने नीतिगत निर्णय र अरु निर्णय गर्ने पहल गछौं।’
उहाँले निजी क्षेत्रमा नीतिगत र अन्य समस्याहरु सम्बोधन गर्न १५ दिन भित्र प्रधानमन्त्रीसहितको बैठक बोलाउने प्रतिवद्धता जनाउनुभएको छ।