Prakash Adhikari January 14, 2024

काठमाडौं, २९ पौष । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल चयन हुनुभएको छ ।

संस्थाको अध्यक्षमा चयन हुनुभएका पौडेलले गत बुधबार एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको छ ।

झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभएका केही समय अगाडि नबिल बैंकको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तत्कालिन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई एनएमबी बैंकको रुपमा स्तरोन्नति गर्न अहं भूमिका खेलेका पौडेल एक सफल बैंकर र ब्यवस्थापक मानिनु हुन्छ ।

२०७० देखि २०७३ सालसम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहेर कार्यभार सम्हाल्नुभएका पौडेल २०७३ सालमा एनएमबी बैंकबाट बाहिरिएपछि २०७४ सालमा नबिल बैंकको सञ्चालक बन्नुभएको थियो ।

२०७७ सालदेखि नबिल बैंकको अध्यक्षको कार्यभार सम्हालिरहनुभएका उहाँ नेपालका व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघको पनि अध्यक्ष हुनुहुन्छ ।

संस्थागत रुपमा विकास हुँदै गरेको नेपालको बैंकिड.क्षेत्रमा विभिन्न कोणबाट प्रहार भएको संवेदनशील घडीमा सीबीफीनको नेतृत्व लिन अग्रसर रहनुभएका स्वच्छ छविका कुशल व्यवस्थापक पौडेलको आगमनले बैंकका सञ्चालकहरुमा बैंकमा भएको लगानी नडुब्ने अवस्था सिर्जना हुने विश्वास पलाएको छ ।

Share Now