Prakash Adhikari January 25, 2024

 

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाको रिक्त हुने १९ सीटका लागि आज भएको निर्वाचनमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका उम्मेद्वारहरु निर्वाचित भएका छन्।

गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ६ सय ६० मतभार पाउनुभयो। शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाको मत पाउनुभयो।

 

एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार ल्याउनुभयो। उहाँले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाउनुभएको थियो।

गण्डकीबाट अपाङ्गता क्लष्टरमा गठबन्धनका तर्फबाट उठनुभएका नेपाली कांग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको छ।

उहाँले ३ हजार ७ सय ७४ मतभार पाउनुभयो। परियारले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाको मत पाउनुभयो।

एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाउनुभयो। उहाँले स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाको मत पाउनुभएको थियो।

गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी हुनुभयो। उहाँले ३ हजार ८ सय ८ मतभार ल्याउनुभयो। श्रेष्ठले स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाको मत पाउनुभएको थियो ।

कर्णालीबाट सावित्री मल्ल विजयी

राष्ट्रिय सभा निर्वाचन कर्णाली प्रदेशबाट महिला क्लस्टरमा नेकपा समाजवादी केन्द्रकी सावित्री मल्ल विजयी हुनुभएको छ।

उहाँले नेकपा एमालेकी उम्मेदवार विमलाकुमारी शाहीलाई हराउँदै राष्ट्रिय सभामा स्थान सुरक्षित गर्नुभएको हो।

निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ मल्लले २९ अर्थात् १ हजार ५ सय ३७ र स्थानीय जनप्रतिनिधिबाट १ सय १५ अर्थात् २ हजार १ सय ८५ गरि जम्मा तीन हजार ७ सय २२ मत प्राप्त गर्नुभएको छ।

 

यस्तै, एमालेबाट उम्मेदवार विमलाकुमारी शाहीले प्रदेश सभातर्फ ११ अर्थात् ५ सय ८३ र स्थानीयतर्फ ४१ अर्थात् ७ सय ७९ गरि जम्मा १ हजार ३ सय ६२ मत प्राप्त गर्नुभयो।

अहिले अन्य क्लस्टरको मतगणना भइरहेको छ।

सुदूरपश्चिमका तीनै सिटमा गठबन्धन

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बिहीबार सम्पन्न मतदानमा सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रका उम्मेदवार बिजयी बन्नुभएको छ।

 

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी हुनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ।

Share Now