Prakash Adhikari January 30, 2024

 

काठमाडौं, १६ माघ । शहीद दिवसको अवसरमा शीर्ष नेताहरुले शहीदप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शहीदका सपना पूरा गर्न सबै नेपालीलाई शुभकामना दिनुभएको छ ।

शहीदको सपनालाई विपनामा रुपान्तर गर्ने सङ्कल्पको आवश्यकताः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरुको अन्त्य हुने बताउनुभएको हो ।

“लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए”, सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उहाँहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइन्छ ।

सभापति देउवाले शहीद दिवसका अवसरमा देश र लोकतन्त्रको हित रक्षाका निमित्त आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्ने सङ्कल्प गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँले नेपाललाई एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।

शहीद दिवसको प्रेरणालाई नभुलौँ :  एमाले अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

विकास र समृद्धि शहीदप्रति सच्चा सम्मान : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिन्छ भन्नुभयो ।

लोकतन्त्रको विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । विज्ञप्तिमा उहाँले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने जनाउँदै समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक छ भन्नुभयो ।

Share Now