काठमाडौँ, १६ माघ । शहीद दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले अमर शहिदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
शहिदहरुको बलिदानले देशमा अधिनायकवादी राणाशासनको अन्त भएको र प्रजातन्त्रलाई समुन्नत बनाउदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै उहाँहरुले लोकतान्त्रिक व्यवस्थाको आलोकमा समृद्ध नेपालको परिकल्पना नै शहिदको सपना भएको बताउनुभएको छ
संविधानको मर्मको पालना नै शहीदको सम्मान: राष्ट्रपति पौडेल
संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताउनुभएको छ ।
शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो ।
शहीद दिवस, २०८० को अवसरमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
शहीदका बलिदानको ऋण तिर्न सकिँदैनः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ ।
शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले त्यसो गर्न सके मात्रै शहीदहरुले दिनुभएको बलिदानका कदर हुने बताउनुभयो ।
अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीर शहीदहरुको सपना र आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपति यादवले महान् शहीदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको स्मरण गर्नुभयो ।
उपराष्ट्रपति यादवले कुनै कारणबाट देशका महान् मार्गदर्शक, वीर सपुत र वीरङ्गनाहरु टाढिए पनि स्वाधीनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान् दायित्व सबै देशभक्तलाई सुम्पिएर गएको बताउनुभयो ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेदको अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान् शहीदलाई स्मरण गर्नुभएको छ ।
शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक : प्रधानमन्त्री दाहाल
्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।
शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उहाँहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपुतलाई राष्ट्रिय शहीद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्नुभएको छ ।


















