Prakash Adhikari May 7, 2018

 

पेरिस(फ्रान्स) २५ बैशाख(बीबीसी) ।  इरानसँग गरिएको परमाणु सम्झौताबारे अमेरिकाले जस्तोसुकै निर्णय लिएपनि फ्रान्स, जर्मनी तथा ब्रिटेनले सो सम्झौतालाई निरन्तरता दिने फ्रान्सेली विदेशमन्त्री बताएका छन्।

इरानलाई परमाणु अस्त्रहरू उत्पादन गर्नबाट रोक्नका लागि सो सम्झौता सबैभन्दा उत्तम उपाय भएकाले ती तीन देशहरू सम्झौतालाई जोगाइराख्न प्रतिबद्ध भएको जाँ यिभ ल द्रियाँले बताएका छन्।

पालना

अमेरिका बाहेकका परमाणु सम्झौताका अन्य हस्ताक्षरकर्ता देशहरूले इरानको फाइदालाई प्रत्याभूत गर्न सके तेहरानले उक्त सम्झौताको पालना गर्ने इरानका राष्ट्रपति हसन रुहानीले बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता एकदमै काम नलाग्ने भएको भन्दै बारम्बार त्यसको आलोचना गर्दै आएका छन्। आगामी मे १२ को समयसीमाभित्र सो सम्झौता परित्याग गर्ने वा नगर्ने भनेर ट्रम्पले निर्णय लिइसक्नुपर्नेछ।

सो विषयबारे छलफल गर्न वासिङ्टन पुगेका ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले इरानसँगको परमाणु सम्झौतालाई रद्द नगर्न ट्रम्पलाई आह्वान गरेका छन्।

फक्स समाचार च्यानलको एउटा कार्यक्रममा ट्रम्पले मन पराउने ठानिने जन्सनले सो सम्झौता उत्तम नभएको भए पनि आवश्यक भएको बताए।

वासिङ्टनमा जन्सनले राष्ट्रपति ट्रम्पसँग भेट गर्ने छैनन्। तर अमेरिकी उपराष्ट्रपति माइक पेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टन तथा अमेरिकी सदनका विदेश नीतिसम्बन्धी नेताहरूलाई भेट गर्नेछन्।

जोखिम

युरोपेली देशहरूले उक्त सम्झौतालाई निरन्तरता दिन सहमत भए भने पनि अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाए त्यसले युरोपेली लगानीकर्ताहरूलाई इरानबाट फिर्ता हुने जोखिम निम्ताउन सक्ने विश्लेषकहरू भन्छन्।

सन् २०१५ मा गरिएको सो सम्झौताअन्तर्गत तेहरानले उसको पारमाणविक कार्यक्रम सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो र बदलामा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो पारिएका थिए।

इरानले उसको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको बताउँदै आएको छ र सो सम्झौतामाथि पुनः छलफल गर्न नसकिने उसले ठानेको बताउने गरेको छ।

Share Now

Leave a comment.