साना(यमन), २४ वैशाख । यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ ।
यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।
स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।
“हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,” कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भन्नुभयो । उहाँले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताउनुभयो ।
यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ ।(रासस/एएफपी)