पोखरा(कास्कीं) । ‘आहा ! रारा पोखरा गोल्ड कप’ फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । उसले ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै उपाधि जितेको हो ।
आहा रारा गोल्ड कप फुटबलको १३ औं संस्करणमा आइपुग्दा नेपाल आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकसम्म फाइनलमा पुगेको आर्मी यसपटक विजेता बनेको हो ।
आज पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन कप्तान जिलेस्पी जंग कार्की , फत्तेमान घले र बसन्त जिम्बाले गोल गरे ।
३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेडमार्फत दोस्रो गोल गरेका हुन्। खेलको ८३ औं मिनेटमा फत्तेमानको गोलमा आर्मीले अग्रतालाई दोब्बर बनाएको थियो ।
बसन्तले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीको जित निश्चित पारे ।
पाँच पटकको विजेता थ्री स्टारको त्यो सातौं फाइनल थियो । पछिल्लो पटक २०७५ मा यी दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले जितेको मारेको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो ।
आहा रारामा थ्री स्टारलाई दुई पटक उपाधि जिताएका प्रशिक्षक मेघराज केसी यसपटक नेपाल आर्मीको प्रशिक्षक थिए । आफ्नो प्रशिक्षणमा आर्मी विजय भएको श्रेय उनलाई पनि गएको छ ।
यसपटक राइजिङ स्टार फुटबल क्लबलाई १–० हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ ले पराजित गर्दै पाँचौं पटक फाइनल पुगेको थियो ।
अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । थ्रीस्टारले यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितेको थियो ।
२३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन्।
पटकको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।