Prakash Adhikari February 3, 2024

महेन्द्रनगर (कञ्चनपुर),२० माघ । कञ्चनपुरको महेन्द्रनगरमा भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै नेपाल एपीएफ क्लबले उपाधि जित्न सफल भएको हो । एपिएफले गण्डकीलाई २१–२५, २५–१६, ३०–२८ र २५–२१ को सेटमा हराएको थियो ।

वर्ष २०८० मा एपीएफको यो तेस्रो उपाधि हो । यसअघि एपीएफ काठमाडौंमा भएको प्रथम पोष्टबहादुर कप र हेटौंडामा भएको केशल स्मृति खुल्ला पुरुष भलिबल च्याम्पियन बनेको थियो ।

यता गण्डकी भने चौथो उपाधि जित्नबाट वञ्चित रह्यो । गण्डकीले मुख्यमन्त्री प्रदेशस्तरीय, लामाचौर कप र विरजङ स्मृतिको उपाधि जितेको थियो ।

पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएर तेस्रो स्थान हासिल गर्यो । उपाधिसँगै एपीएफले ४ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गण्डकीले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो भएको पुलिसले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । चौथो भएको आर्मीले ५० हजार रुपैयाँ पाएको छ ।
उत्कृष्ट खेलाडी पुरस्कृत

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपीएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विभागीय नेपाल एपिएफ क्लबका स्पाइकर विजय थापा तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

एपीएफलाई च्याम्पियन बनाउन विजयले प्रतियोगिताभर नै सानदार प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । सर्वोत्कृष्ट बनेसँगै विजयले २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सुदुर पश्चिम प्रदेशका अर्जुन नेपाली प्रतियोगिताको उदीयन खेलाडी घोषित भएका छन् । १७ वर्षीय अर्जुन नेपालले यसै वर्ष बंगलादेशमा भएको यु–२३ पुरुष भलिबलका लागि भएको बन्द प्रशिक्षणमा समेटिएका थिए । उनले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारे ।

गण्डकीका रवि केसी स्पाइकर, एपीएफका हेमन्त मल्ल सर्भर, पुलिसका इम बहादुर राना सेटर, एपिएफका विनोद चन्द लिवेरो, गण्डकीका इन्द्रबहादुर विक ब्लकर र एपीएफका पुष्प मल्ल उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट – विजय थापा (एपिएफ)
उदियमान – अर्जुन नेपाली (सुदूरपश्चिम)
स्पाइकर – रवि केसी (गण्डकी)
सर्भर – हेमन्त मल्ल (एपिएफ)
सेटर – इम बहादुर राना (पुलिस)
लिवेरो – विनोद चन्द (एपिएफ)
ब्लकर – इन्द्र बहादुर विक (गण्डकी)
प्रशिक्षक – पुष्प मल्ल (एपिएफ)

 

Share Now