काठमाडौँ, २० माघ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले अरु क्षेत्रको बजेट कम गरेर भएपनि सरकारले खेल क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने बताउनुभयो ।
अहिलेको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गर्नुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्री महतले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताउनुभयो।
अर्थमन्त्री डा. महतले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताउनुभयो । “क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता नै दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको छ”,उहाँले भन्नुभयो, “सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रियरुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सीमितता छ । माग धेरै छ, आवश्यकता धेरै छन् । तर अरु क्षेत्रको बजेट कम गरेर भएपनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ ।”
अर्थमन्त्री डा. महतले सरकारले देशलाई मन्दीबाट बिस्तारै उठाइरहेको दाबी समेत गर्नुभयो ।


















