काठमाडौं, २५ माघ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेपालको शेयर बजार थोरै उकालो लागेको छ । अघिल्ला तीन दिनदेखि कारोबार दिनदेखि उकालो लागिरहेको नेपालको धितोपत्र बजार परिसूचक यस दिन ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ।
यस दिन परिसूचकसंगै कारोबार रकम पनि बढेको छ। बुधबार २ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १७ स्टकको ६७ हजार २ सय ७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन चन्द्रगिरी हिल्सको करिब ९ करोडको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम साढे ७ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ।


















