काठमाडौँ, १ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो ।
वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताउनुभएको छ । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गर्नुभएको छ ।
“सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, राष्ट्रपति पौडेलले शुभकामना भन्नुभएको छ । उहाँले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
आजका दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइने उल्लेख गर्दै उहाँले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गर्नुभएको छ ।
—