कीर्तिपुर(काठमाडौं), ९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तरगत आज भएको आफ्नो तेस्रो खेलमा नेपालले प्रतिस्पर्धी नामिबिया विरुद्ध १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा टस हारेर ब्याटिड.मा परेको नेपालले निर्धारित ५०ओभरको खेल पूरै खेल्न सकेन । ३७.१ ओभरमा अलआउट भएको नेपालले जम्मा १ सय ६८ रनको योगफल तयार गरेको छ ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन जोडे । उनले ६४ बलमा ८ चौका र १ छक्काका मद्दतले ५८ रन जोडेका थिए । खेलमा कुशल मल्लले ३६ रनको योगदान दिए । उनले ५२ बलमा १ चौका र ३ छक्का हिर्काए । भीम सार्कीले २६ रन बनाए भने ओपनर कुशल भूर्तेलले १८ । नेपालका करन केसी १२, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी ४ रनको योगदान गरे । कप्तान रोहित पौडेल, देव खनाल र अनिल साह खाता नखोल्दै आउट भए । ललितसिंह राजवंशी शून्य रनमा नट आउट रहे ।
नेपाललाई रोक्ने क्रममा नामिबियाका बर्नाड शोल्ज र जोन निकोल लोफ्टि इटनले ४।४, ज्याक ब्रसेल र गेहार्ड इरास्म्सले एक एक विकेट लिए ।


















